‘छानविन समिति गठन नभएसम्म सदनमा गृहमन्त्रीको जवाफ सुन्दैनाैं’
तर, सहकारी अनियमिततामा उनको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्री लामिछानेको जवाफ सुन्न तयार छैन। पार्टीले राखेको माग सम्बोधन नभई गृहमन्त्रीले जवाफ दिने कार्यसूची आए संसद् अवरुद्ध गर्ने संकेत कांग्रेसले गरेको छ।
काठमाडौं, चैत २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न समिति नबनेसम्म रोष्ट्रममा बोल्न नदिने भएको छ।
कांग्रेसको पार्टी कार्यसम्पादन समितिको मंगलबारको बैठकले उच्चस्तरीय छानविन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।
‘उहाँहरु कांग्रेसले उठाएको मागहरु बेवास्ता गर्दै आउनुभएको छ। त्यसबाट सहकारी ठगीमा गृहमन्त्रीको संलग्ना छ भन्ने कुरा स्पष्ट हुँदै छ । होइन भने समिति गठनमा किन आपत्ति भयो ? पहिले पनि समिति गठनका लागि माग त उठेकै हुन् नि, अनि सरकारले सहजै मान्ने गथ्र्यो,’ पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भएको बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अहिले नहुुनुको पछाडि समस्या छ त्यहाँ भन्ने निष्कर्ष पुग्यौं । भोलि संसदमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा जबरजस्ती गर्न खोज्नुभयो भने हामी पनि त्यही किसिमले प्रस्तुत हुन्छौं।’
प्रतिनिधिसभामा आजदेखि सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरुको भोलि जवाफ दिने तयारी गरेका छन्। उनले आफूसँग जोडिएका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गर्दै आएका छन्।
तर, सहकारी अनियमिततामा उनको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्री लामिछानेको जवाफ सुन्न तयार छैन। पार्टीले राखेको माग सम्बोधन नभई गृहमन्त्रीले जवाफ दिने कार्यसूची आए संसद् अवरुद्ध गर्ने संकेत कांग्रेसले गरेको छ।
त्यस्तै, कांग्रेसको कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने उम्मेदवारको टुंगो भने अझै लगाएको छैन । त्यसका लागि भोलि दिउँसो २ बजे फेरि बैठक बस्ने जानकारी महतले दिए।