बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको अवस्थामा सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने उनले बताए।-1707828077.jpg)
काठमाडौं, चैत २० : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिम्स्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले सार्कलाई निष्क्रिय बनाउने बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत नभएको र बिम्स्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका हुन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको अवस्थामा सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने उनले बताए। उनले आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने नीति सरकारको रहेको धारणा राखे।
श्रेष्ठले सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेको जानकारी दिए। उनले संसदबाट अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताए।
बैठकमा सांसदहरुले बिम्स्टेकबाट लाभ लिन सरकारले थप पहलकदमी लिनुपर्ने धारणा राखेका थिए। छलफलपछि बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।












