Kathmandu Press

प्रधानमन्त्री दाहालद्वारा रेशम र रन्जितासँग छुट्टाछुट्टै छलफल

प्रधानमन्त्री दाहालले साेमबार बिहान रन्जितासँग र दिउँसो रेशमसँग नयाँ सत्ता समीकरण र प्रदेश सरकारबारे छलफल गरेका हुन्।
प्रधानमन्त्री दाहालद्वारा रेशम र रन्जितासँग छुट्टाछुट्टै छलफल

काठमाडौं, चैत २० : नयाँ सत्ता गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रन्जिता चौधरी र पार्टी संरक्षकसमेत रहेका पति रेशम चौधरीबीच दरार उत्पन्न भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुवैसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

प्रधानमन्त्री दाहालले साेमबार बिहान रन्जितासँग र दिउँसो रेशमसँग नयाँ सत्ता समीकरण र प्रदेश सरकारबारे छलफल गरेका हुन्। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैलाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ।

Hardik ivf

रेशम र रन्जिताकाे मतभिन्नताले वर्तमान सत्ता गठबन्धनमा आबद्ध नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठन अन्याेलपूर्ण बनेकाे छ।

प्रधानमन्त्री दाहालले संरक्षक चौधरीसमक्ष नयाँ सत्ता गठबन्धनमा सामेल हुन र  सरकारलाई समर्थन जनाउनआग्रह गरेकाे बताइएकाे छ। चैत २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र त्यसले गर्ने निर्णयअनुसार अघि बढ्ने जवाफ दिएकाे जनाइएकाे छ। उनले प्रदेश सरकारलाई स्वायत्त भएर निर्णय गर्न दिनुपर्ने भनाइ रेशमले राखेकाे स्राेतकाे भनाइ छ।

रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्ष रहेका कारण सोमबार पार्टी केन्द्रीय कार्यालयमा नेताहरूबीच हात हालाहाल भएकाे थियाे। रन्जिता र रेशम पक्षधर नेताहरुबीच कुटाकुटकै घटना भएपछि पार्टी विभाजनतर्फ उन्मुख भएकाे आकलन गरिएकाे छ ।

रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जनलाई पार्टीबाट निष्कासनकाे कारबाही गरेकी छन्।

यसैबीच एमाले अध्यक्ष केपी ओलीले पनि मंगलबार दिउँसो बालकोट बाेलाएर रन्जितासँग छलफल गरेका छन्। रेशम पनि ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बताइएको छ।

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्