शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री सुमना श्रेष्ठकाे प्रतिबद्धता
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भन्दै विद्यालय र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी हुन्।
काठमाडाैं, चैत १९ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन्।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भन्दै उनले विद्यालय र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बताएकी हुन्।
मन्त्री श्रेष्ठले विद्यालयमा शिक्षक वा कर्मचारी राजनीतिक दलको आवद्धता हुन नहुने कानून कार्यान्वयनका लागि पहल सुरु भइसकेको जानकारी दिइन्। उनले सामुदायिक शिक्षामा लगानीको कमिका कारण नभइ अति राजनीतिकरणका कारण सन्तोषजनक नतिजा आउन नसकेको उल्लेख गरिन्। उनले समयमा नै पाठ्यपुस्तक पुराउने जिम्मा स्थानीय तह र विद्यालयको भएको बताइन्।
शिक्षा क्षेत्रको बजेटले शिक्षा क्षेत्रको सुधार र शिक्षकहरुको आवश्यक पुरा गर्न नसकिने भएकाले आगामी बजेटमा शिक्षा क्षेत्रको बजेटको सिलिङ बढाउन पहल भइरहेको उनले बताइन्। मन्त्री श्रेष्ठले गुणस्तरमा ध्यान नदिए निशुल्क शिक्षा मात्रै भनेर केहि नहुने धारणा राखिन्। शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजनाका बारेमा समितिले शिक्षा मन्त्रीसंग जानकारी लिएको हो।












