न्यारोबडी खरिद प्रक्रियामा भ्रष्टाचार नभएको आधार प्रस्तुत गर्न निगमलाई निर्देशन
सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले जवाफका लागि निगमलाई पन्ध्र दिनकाे समय दिएकाे छ।-1711962342.jpg)
काठमाडौं, चैत १९ : न्यारोबडी जहाज इन्जिन प्रकरणमा भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न संसदीय समितिले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले जवाफका लागि निगमलाई पन्ध्र दिनकाे समय दिएकाे छ।
बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवासँग छलफल भएकाे थियो।
त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु प्रतिवेदनले औंल्याएको समस्या, न्यारोबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार, नेपाल वायुसेवा निगमको विग्रिएको दुई न्यारोबडी जहाज इन्जिन मर्मत नगरी भाडामा लिएर चलाइएकोलगायतका विविध विषयमा समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग जवाफ मागेको हो।
छलफलका क्रममा निगमका तर्फबाट अधिकारीसँगै सरोकारवालाले समितिमा दिएको जवाफ चित्त बुझ्दो नआएपछि समितिका सभापति राजकिशोर यादवले १५ दिनभित्र न्यारोबडी जहाज प्रकरणमा भ्रष्टाचार नभएको पुष्टि गर्न निगमलाई निर्देशन दिए।
यादवले न्यारोबडीसँगै जहाज खरिद गर्दाको सम्झौता र निगमका अधिकारीले त्यसमा भ्रष्टाचार गरेको पाइए समितिले कारबाही गर्ने चेतावनी दिए। यादवले भने, ‘पन्ध्र दिनभित्र न्यारोबडी इन्जिन प्रकृयामा कुनै बदमासी नगरेको समितिलाई विश्वास हुने आधार पेश गर्नू।’
यस्तै समितिले त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु प्रतिवेदनले औंल्याएको समस्या समाधान गर्न निगमले चालेका कदमका सन्दर्भमा पनि जवाफ मागेको छ। निगमभित्र विभिन्न समस्या देखिएको र त्यसको मूल जरो भ्रष्टाचार भएको समतिको ठहर छ। समितिले इयु प्रतिवेदन कार्यान्वयनमा नदेखिएको तदारुकता, क्यानले दिएको २७ बुँदे निर्देशन कार्यान्वयनको अवस्थाबारे पनि सोधेको छ।












