Kathmandu Press

१४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन तयार : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रमणका क्रममा नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनको सहयोगबारे छलफल भएको जानकारी दिँदै उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरे।
१४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन तयार : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, चैत १९ : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण सफल र उपलब्धिमूलक भएको बताएका छन्। सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण सफल भएको बताएका हुन्।

भ्रमणका क्रममा नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनको सहयोगबारे छलफल भएको जानकारी दिँदै उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरे। भ्रमणले नेपाल–चीनबीच आपसी सदभाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन तथा दुई मुलुकबीच विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरे।

नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उनले बताए।

Hardik ivf

मन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरु सञ्चालनमा आइसकेको र कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी पनि गराए।

सन् २०१२ मा दुई देशबीच भएको सम्झौताबमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए।

यस्तै नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको, भैँसीको मासु, वनस्पतिजन्य औषधि उत्पादन, तरकारी तथा फलफूललगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न आफूले अनुरोध गर्दा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।

उनले सीमाका केही क्षेत्रमा बहुआयामिक प्रयोगशाला स्थापना र नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन गर्न आग्रह गरिएको पनि बताए। भ्रमणका अवसरमा नेपालको काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबीच थप हवाई उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन्। यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। 

यसैगरी अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारण लाइनआदिको विस्तार गरी नेपाल–चीनबीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन्। कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाइ कार्यान्वयन गर्दै जान दुवै पक्ष सहमत भएका छन्। काठमाडौँमा आगामी वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताको बढीभन्दा बढी सहभागिताका जनाउन, नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउन र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिएको उनले जनाए।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए। त्यसक्रममा उनले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। बेइजिङमा रहँदा उनले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्