कोटीभिटीमाथि ५ अर्ब १८ करोड राजश्व चुहावटको अभियोग
छानबिनबाट प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनुपर्ने कर राजस्व दाखिला नगरेको तथ्य भेटिएपछि सजायको माग राखेर विभागले मुद्दा दायर गरेको हो।
काठमाडौं, चैत १८ : राजश्व चुहावट प्रकरणमा राजस्व अनुसन्धान विभागले ५ अर्ब १८ करोड २२ लाख ६१ हजार तीन सय २१ रुपैयाँ बराबर बिगो जरिवाना माग दावी गर्दै कोटीभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको छ।
विभागले कोटीभिटी नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी रहेको जनाएको छ। छानबिनबाट प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनुपर्ने कर राजस्व दाखिला नगरेको तथ्य भेटिएपछि सजायको माग राखेर विभागले मुद्दा दायर गरेको हो।
कम्पनीको २०७५ कात्तिक १ गते शेयर धनीको विशेष निर्णय बमोजिम भर्सेन्डको नाम परिवर्तन गरी कोटोभिटी कायम गेरर कारोबार गर्दै आएको विभागको अनुसन्धानबाट देखिएको छ।
कोटीभिटीले राजश्व चुहावट ऐन, २०५२ को दफा ४ को देहाय (क) र (च) बमोजिमको कसुर गरेको बताउँदै विगोको अनुपातमा जरिबाना र जेल सजायको माग दाबी गरिएको छ।
छानबिनबाट उक्त कम्पनीको विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको छ तर कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार मध्यम स्तरीय करदाता कार्यालय लगायत सरकार अन्तर्गतका निकायलाई जानकारी नदिई प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनुपर्ने राजश्व चुहावट गरेको आरोप लगाइएको छ।
आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरेको दाबी विभागको छ।












