Kathmandu Press

प्रचण्डले बुहारीलाई सहइन्चार्ज बनाएपछि सुदूरपश्चिममा विवाद उत्कर्षमा 

वरिष्ठ नेताहरूलाई बाइपास गरी मगरलाई सहइन्चार्ज बनाइएको भन्दै पार्टी राजनीतिमा दुःख गरेका पुराना नेता रुष्ट बनेका हुन्।
प्रचण्डले बुहारीलाई सहइन्चार्ज बनाएपछि सुदूरपश्चिममा विवाद उत्कर्षमा 

काठमाडौं, चैत १८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी बुहारी केन्द्रीय सदस्य बीना मगरलाई सहइन्चार्ज बनाएपछि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिमा विवाद चर्किएको छ। 

वरिष्ठ नेताहरूलाई बाइपास गरी मगरलाई सहइन्चार्ज बनाइएको भन्दै पार्टी राजनीतिमा दुःख गरेका पुराना नेता रुष्ट बनेका हुन्।

गत फागुन १६ गते बसेको माओवादी पदाधिकारी बैठकले पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेललाई सुदुरपश्चिम प्रदेशको इन्चार्ज र मगरलाई सहइन्चार्जको जिम्मेवारी तोकिएको थियो।

जिम्मेबारीप्रति रुष्ट बनेका स्थायी समिति सदस्य खगराज भट्टसहित आधा दर्जन केन्द्रीय सदस्य र अधिकांश सचिवालय सदस्यहरूले चैत १५ गते बसेको प्रदेश सचिवालयको विस्तारित बैठक समेत वहिष्कार गर्दै बाहिरिएको जनाइएको छ। 

असन्तुष्टि उत्कर्षमा पुगेपछि प्रदेश इन्चार्ज रहेका पोखरेलले सबै पक्षसँग छलफल गरेर पूर्ण बैठक बोलाउने तयारीमा रहेको जनाइएको छ। 

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, चैत १८, २०८०