संवाद यात्राबाट थप भरोसा र उत्साह बोकेर आएको छु : महामन्त्री थापा
‘संवाद यात्राबाट थप भरोसासहित उत्साह बोकेर आएको छु। जनचासो र सरोकारका विषयका बारेमा अब तत् तत् निकायमा निरन्तर झक्झकाउने छु। केही समयपछि यात्रालाई पुनः निरन्तरता दिनेछु।’-1710072682.jpg)
काठमाडौं, चैत १८ : कांग्रेस महामन्त्री गगन कुमार थापाले संवाद यात्राले उत्साह जगाउकाे भरोसा बढाएकाे बताएका छन्।
दोस्रो चरणको संवाद यात्रा सकेर काठमाडौं फर्किएका उनले भने, ‘संवाद यात्राबाट थप भरोसासहित उत्साह बोकेर आएको छु। जनचासो र सरोकारका विषयका बारेमा अब तत् तत् निकायमा निरन्तर झक्झकाउने छु। केही समयपछि यात्रालाई पुनः निरन्तरता दिनेछु।’
चैत १६ देखि थापा नेतृत्वको टोलीले सूर्यपुरामा रहेको जननायक बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्रा सुरु गरेकाे थियाे। महामन्त्री थापा शनिबार दाङ र बाँकेमा हुलाकी राजमार्ग आसपासका समुदायसँग संवाद गरी काठमाडौं फर्केका हुन्।
‘यसपटक खुला छलफल, उद्योग व्यवसाय,शिक्षा, स्वास्थ्य, कृषिलगायतको विषयमा सरोकारवालासँग अन्तरक्रिया, अवलोकनका साथै पार्टीको तल्लो तहमा क्रियाशील सदस्य,नेतृत्व चयन र पार्टी व्यवस्थापन तथा लिनुपर्ने नीतिका बारेमा सुझाव लिएर आएको छु,’ उनले भने।
थारु समुदायसँग छलफल, सिक्टा सिंचाइ आयोजनाको अवलोकन र अन्तरक्रिया र जनप्रतिनिधि र जनसमुदायसँग संवादमा धेरै महत्त्वपूर्ण विषय आएको उनले उल्लेख गरेका छन्।
यात्राका क्रममा महामन्त्री थापाले केही कानुन, केही बजेट कार्यान्वयनमा अड्किएका विषयमा पार्टीले पहलकदमी लिनुपर्ने पनि उल्लेख गरे।












