Kathmandu Press

शून्य समय : सुनभन्दा नुन महँगाे भएकाेदेखि अपांगता भएका नागरिककाे अधिकारसम्मकाे विषय

सांसद डा स्वर्णिम वाग्लेले पूर्ण असक्त एवं अति अशक्त शारीरिक अपांगता भएका नागरिकका लागि सरकारले सामुदायिक सहायता सेवा निःशुल्क उपलब्ध गराउन माग गरे।
शून्य समय : सुनभन्दा नुन महँगाे भएकाेदेखि अपांगता भएका नागरिककाे अधिकारसम्मकाे विषय

काठमाडौं, चैत १८ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गरे।

सांसद विद्या भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको  भविष्यमाथि खेलवाड भएको बताइन्।    

विश्वविद्यालयले गत वैशाखमा जनसङ्ख्या र फाउण्डेसन अफ एजुकेशनको परीक्षा लिएको थियो। सोही परीक्षामा सहभागी कम्तीमा एक सय ८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएकाले विश्वविद्यालयले पुनः परीक्षा दिनुपर्ने भन्दै सूचना प्रकाशित गरेको थियो। उनले यसप्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

Hardik ivf

सांसद बिना लामाले हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासो आइरहेको र उनीहरु घण्टौँ हिँडेर सदरमुकाम पुग्दा पनि नुन नपाउने समस्या झेलिरहेको भन्दै मुगुमा तत्काल नुनको प्रबन्ध गर्न सरकार समक्ष माग गरिन्। 'नागरिक सबैको भान्सामा नभई नहुने खाद्यपदार्थ नुन हो तर, कैयौँ हिमाली जिल्लाका नागरिकका लागि नुन सुनभन्दा पनि महङ्गो भइरहेको छ,' सांसद लामाले भनिन्।

सांसद बिजुला रायमाझीले अर्घाखाँचीको एतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको सुपा देउराली मन्दिरको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन माग गरिन्। 

सांसद शान्ति बिकले विभिन्न भ्रष्टाचार र ठगीमा संलग्न दोषीलाई कारबाही गरी अपराध नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न माग गरिन्। सांसद शिव नेपालीले काभ्रेपलाञ्चोकका अजित मिजारले उपल्लो जातसँग प्रेम विवाह गरेकै कारण मारिएको भन्दै उनका परिवारले न्याय नपाएसम्म अन्त्यष्टि नगर्ने भनी पर्खिरहेकाले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरिन्।

सांसद शिशिर खनालले देशका एकसय ६५ वटै निर्वाचन क्षेत्रमा दुईलेनको निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण गर्नेगरी तत्कालीन प्रधानमन्त्रीले शिलान्यास गरेकाे तीन वर्ष भइसकेको भन्दै सबै जिल्लामा सडक निर्माणको चरणमा रहे पनि काठमाडौँ क्षेत्र ६ को सडक निर्माणका लागि अझै ठेक्का लाग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद शोभा ज्ञवालीले बढ्दो सडक दुर्घटनाले ठूलो जनधनको क्षति भइरहेको भन्दै सम्बन्धित निकायले सडक मर्मत तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सरारकोरवाला निकायलाई जिम्मेवार बनाउन सभामुखमार्फत सरकारको धयनाकर्षण गराइन्।

सांसद सन्तोष चालिसेले काठमाडौँको बौद्धनाथ क्षेत्रमा सडक साँघुरो हुँदा पर्यटकले सास्ती बेहोर्नुपरेको भन्दै बढ्दो यातायातको चाप नियन्त्रण गरी सडक यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराए। सांसद सरस्वती सुब्बाले संविधानमा भूमिहीन दलितलाई एकपटक जमिन र आवासको व्यवस्था भएपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै भूमिहीन दलित सुकुम्बासीलाई तत्काल जमिन र आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सम्झना थपलियाले कृषकलाई सुविधाको ऋणको व्यवस्था गर्न माग गर्नुभयो। सांसद सराज अहमद फारुकीले सीमा क्षेत्रमा पर्यटकलाई सहज आवागमन र पर्यटनसँग सम्बन्धित कार्यालय व्यवस्थापन गर्न माग गरिन्। सांसद सरिता भुसालले नवलपरासीको बर्दाघाटको खजुरा पुल निर्माणलाई तीव्र गतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद डा स्वर्णिम वाग्लेले पूर्ण असक्त एवं अति अशक्त शारीरिक अपांगता भएका नागरिकका लागि सरकारले सामुदायिक सहायता सेवा निःशुल्क उपलब्ध गराउन माग गरे। उनले व्यक्तिगत सहयोगी सेवा र दैनिक हेरचाह तथा स्याहार सेवा स्थानीय तहले उपलब्ध गराउने व्यवस्था रहेको र अहिले भत्ता मात्रै उपलब्ध हुने गरेको भन्दै आवश्यक वित्तीय र व्यवस्थापकीय प्रबन्धन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद विनिताकुमारी सिंहले तराई मधेसमा अत्यधिक गर्मी र हावाहुरीका कारण आगलागीका घटनाले प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रमका साथै हरेक पालिकामा ‘फायर फाइट्रिङ’सहित दमकलको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद सुनिता बरालले विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले नयाँ भर्नाका नाममा विद्यार्थीबाट वार्षिक शुल्क लिइरहेको भन्दै यसप्रति प्रभावकारी अनुगमन र विशेष निर्देशन दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद सोविता गौतमले संवैधानिक र कानुनी व्यवस्था भए पनि आजपनि महिलाहरु दाइजोका नाममा प्रताडित हुनुपरेको भन्दै उनीहरुलाई न्याय दिन माग गरिन्। सांसद सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरियाको संरक्षण चुनौतीपूर्ण बनिरहेको भन्दै उक्त प्रयोजनका लागि आवश्यक बजेट विनियोजना गर्न माग गरे। सांसद हर्कमाया विश्वकर्माले विभेदमा परेका वर्ग समुदायको न्यायका लागि ध्यान दिन आग्रह गरिन्।

सांसद हरि ढकालले दूध उत्पादक किसानको रकम भुक्तानी सुरु गरेकोमा सभामुखमार्फत सरकारलाई धन्यवाद ज्ञापन गरे। उनले मह किसानले उत्पादन गरेको ठूलो परिमाणको महले बजार नपाएको भन्दै महको बिक्री वितरणको प्रबन्ध मिलाउन पनि माग गरे।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले हावाहुरी, असिनापानी र आगजनीले देशका विभिन्न स्थानमा किसानले क्षति बेहोसररहेको भन्दै पीडितलाई राहत उपलब्ध गराउन माग गरे। सांसद सूर्यमान तामाङ दोङले सडकको दुरावस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद हेमराज राईले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने सुनिश्चितता मिलाउन माग गर्नुभयो। सांसद ज्ञानु बस्नेत सुवेदीले भूमि बैंकको अवधारणा किसान विरोधी काम भएको भन्दै कृषि सहकारी समूहलगायतका माध्यमबाट कृषिको उत्पादन प्रवद्र्धन गर्नु उपयुक्त हुने धारणा राखे।

सांसदहरु बिना जैसवाल, सांसद सिता मिजार, सांसद सिताकुमारी राना, सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाललगायतले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्