आउँदो बजेटमा पनि कर्णालीलाई सम्बोधन नगरे संसद र सडकबाट आन्दोलन : ज्ञानेन्द्र शाही
आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कि त सरकारले कर्णालीलाई नेपालभित्र पर्दैन भनेर भन्नुपर्यो नभए यसरी उपेक्षा गर्न नमिल्ने बताए।
काठमाडौं, चैत १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले विकास निर्माणका सवालमा कर्णालीलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कि त सरकारले कर्णालीलाई नेपालभित्र पर्दैन भनेर भन्नुपर्यो नभए यसरी उपेक्षा गर्न नमिल्ने बताए।
उनले भने,‘सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिंदैन। कि त कर्णाली नेपालमा पर्दैन भन्नुहोस दमका साथ। हामी तपाईंभन्दा दोब्बर बढी विकास गरेर देखाउँछौं। यदि नेपाल भित्र पर्छ भने अनावश्यकका प्रोजेक्टहरु नपठाउनुस्।’
सरकारले कर्णालीको विकासका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोज गर्न थुर्थुर काप्ने गरेको शाहीको आरोप थियो।
उनले भने, कर्णालीमा दुई अर्ब बजेट विनियोजन गर्न सरकार किन थुर्थुर काँप्छ ? भिख मागेको होइन सभामुख महोदय। अधिकार चाहिएको हो। अधिकार खोस्ने हो।’
आउँदो आर्थिक वर्षको बजेटमा पनि कर्णालीलाई सम्बोधन नगरे संसद र सडकमा आन्दोलन गर्ने उनको चेतावनी थियो।












