‘न्यायपालिकाको निर्णय कानुन र संविधानसम्मत हुनुपर्छ ’
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बाेल्दै उनले न्यायपालिकाले पहुँचका आधारमा निर्णय गर्ने गरेको जिकिर गरे । उनले न्यायपालिकाको निर्णय कानुन र संविधानसम्मत हुनुपर्नेमा जाेड दिए।
काठमाडौं, चैत १८ : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायाधीशहरुको आचरणबारे संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बाेल्दै उनले न्यायपालिकाले पहुँचका आधारमा निर्णय गर्ने गरेको जिकिर गरे । उनले न्यायपालिकाको निर्णय कानुन र संविधानसम्मत हुनुपर्नेमा जाेड दिए।
उनले उस्तै प्रकृतिमा फरक-फरक फैसला हुन थालेको पनि स्पष्ट पारे। उनले वर्षौंदेखि भ्रष्टाचारको मुद्दा,देशको राजस्वसँग जोडिएको विषयलाई न्यायपालिकाले वर्षाैंसम्म पेसी नदिनुमा राजनीतिक प्रभाव रहेको आरोप लगाए।
उनले भने, ‘वर्षौंदेखि भ्रष्टाचारको मुद्दा हुन्छ। देशको राजस्वसँग जोडिएको विषय हुन्छ। त्यसलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिने। त्यसमा राजनीतिक प्रभाव छ। विगतमा पनि न्यायापालिका बदनाम थियो अहिले पनि यस्तै रह्यो भने देशमा विश्वासको खडेरी परिरहेको छ।’
उनले न्यायपालिकामा नियुक्ति भागबन्डाका आधारमा भइरहेका भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद कुरा रहेको बताए।
‘न्यायपालिकामा नियुक्ति भागबन्डाको. आधारमा भइरहेको छ। भागबन्डामा नियुक्ति हुनु एउटा कुरा हो तर भागबन्डाको. आधारमा निर्णय गर्ने कुरा दुखद कुरा हो,' उनले भने, 'यसले न्यायपालिको छविलाई माथि पुर्याउदैन्। र देशको न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ।’












