संसदमा कांग्रेसले भन्यो– सहकारी ठगीबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा भएको छ
उनले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग दोहो¥याए।
काठमाडौं, चैत १८ : सहकारीको रकम हिनामिनाको विषयमा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनाएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले भने, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ।’
चैत १४ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए।
उनले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग दोहो¥याए।
गौतमले गृहमन्त्री लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताए।
‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौं न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गर्नुभयो,’ उनले भने, १सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गर्नुभयो। यसले गर्दा हामीले उठाएको मुद्दाहरुमा गम्भीर प्रशन जन्मिएको छ।’
सांसद गौतमले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए। प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनको भनाइ थियो ।
‘प्रतिपक्षले बारम्बार उठाइरहेका कुराहरू गम्भीर छन्। प्रधानमन्त्रीको जवाफ र प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरूले संशय पैदा भएका छन् कि यसको न्याय निरुपण कसरी हुन्छ?,’ उनले भने, ‘प्रधानमन्त्रीले ठूलो माछाको छानबिन गर्छु भन्ने अनि ठूलो माछा काखीमा च्यापेर साना माछाको मात्रै खोजी गर्ने कुरा प्रतिबद्धता देखाएर मात्रै पुग्छ?’
प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।
यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीको गम्भीरतापूर्वक छानबिन भइरहेको भनेको अवस्थामा त्यो रोकिएको र छानबिनको दायरामा रहेका व्यक्ति नै गृहमन्त्री भएको गौतमले बताए।












