उपनिर्वाचनमा एमाले हार्न मिल्दैन : ओली
गत वर्षको निर्वाचनमा गठबन्धन गरेकै कारण गणितीय हिसाबले अन्य दलहरु केही सिट अगाडि गए पनि खराब नेताहरु पार्टीबाट निस्किनु नै उपलब्धी भएको ओलीले बताए।
बझाङ, चैत १७ : एमाले अध्यक्ष केपी ओलीेले आगमी वैशाख १५मा हुने उपनिर्वाचनमा एमाले हार्न नमिल्ने बताएका छन्।
शनिबार एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयेजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै ओलीले गत निर्वाचनमा एमालेले आफूविरुद्धको खतरनाक गठबन्धनका कारण पराजयको सामना गर्नुपरेको बताए।
अध्यक्ष ओलीले आसन्न उपनिर्वाचनमा सुखद परिणाम ल्याउने दाबी गरे। उनले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी फुटाएकै कारण केही ठाउँमा कमजोर नतिजा आएको बताए।
‘गत निर्वाचनमा सबै पार्टी एकातिर र नेकपा एमाले एकातिर, त्यस्तो अवस्थाकोे सामना गर्नुपर्दा पराजयको पीडा व्यहोर्नुपरेको थियो। तर यसपटक हामी सुखद परिणाम गर्न चाहन्छौं। यसपल्ट हामी हार्दैनौ, हार्न मिल्दैन,’ अध्यक्ष ओलीले भने, १गत वर्षको निर्वाचनमा नेकपा एमालेकै हस्ती भनिएका नेताहरु पार्टी फुटाएर गएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए।’
पार्टीविरुद्धको चर्को गठबन्धनका बाबजुद एमाले लोकप्रिय पार्टी हुँदै आफ्नो साख कायम राखेको अध्यक्ष ओलीको भनाइ छ। गत वर्षको निर्वाचनमा गठबन्धन गरेकै कारण गणितीय हिसाबले अन्य दलहरु केही सिट अगाडि गए पनि खराब नेताहरु पार्टीबाट निस्किनु नै उपलब्धी भएको ओलीले बताए।
ओलीले एमाले फुटाएर एकीकृत समाजवादी बनाएका माधवकुमार नेपालको पनि आलोचना गरे। ‘हाम्रो पार्टीमा केही कमजोरी रहनु बेग्लै कुरा होला, केही मान्छेहरु सडेर गलेर जानु बेग्लै कुरा होला । एउटा राम्रो काम के भएको थियो भने कुहिएका आलुहरु बोराबाट निकालेर बाहिर फालिएका थिए,’ उनले भने।
बझाङमा उपनिर्वाचन भएको ठाउँमा डोरी अल्झ्याएर जितेको उल्लेख गर्दै सक्रियता र ऊर्जा लिएर अगाडि बढेमा एमाले जित निश्चित रहेको ओलीले दाबी गरे।












