‘जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ’
लोकतन्त्रप्राप्तिसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उनको भनाइ थियो।
चितवन, चैत १७ : राष्ट्रपति रामचन्द्र पौडेलले जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिए।
उनले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याए।
लोकतन्त्रप्राप्तिसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्यांकन गर्नुपर्नेबेला भएको बताए ।
उनले ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताउँदै आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताए।












