‘एक दिन माओवादी एक भएरै छाड्छ’
उनले हिजो जेल तोड्नेहरुले आज साम्राज्यवादी र दलालीहरुको खेल तोड्न आवश्यक रहेको बताए। नेपालको इतिहासले माओवादहरुलाई एक ठाउँमा ल्याएको भन्दै नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्ने उनको भनाइ छ।
काठमाडौं, चैत १७ : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै माओवादीहरु एक भएरै छाड्ने दाबी गरेका छन्।
शनिबार २४औं जेलब्रेक स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा गलत तत्वहरुको हातमा सुम्पिन नसक्ने भन्दै रिस र आलोचना गरे पनि एक दिन माओवादी एक भएरै छाड्ने दाबी गरेका हुन्।
‘हाम्रो देशलाई कुनै पनि हालतमा गलत तत्वहरुको हातमा सुम्पिन सकिँदैन। अहिले समाजवादी मोर्चा पनि बनेको छ। हाम्रै पहलमा हाम्रो राम्रो छलफल पनि चलेको छ,’ उनले भने, ‘माओवादी त छँदैछ। माओवादी त एक हुन्छ । एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ।’
उनले हिजो जेल तोड्नेहरुले आज साम्राज्यवादी र दलालीहरुको खेल तोड्न आवश्यक रहेको बताए। नेपालको इतिहासले माओवादहरुलाई एक ठाउँमा ल्याएको भन्दै नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्ने उनको भनाइ छ।
‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ। साम्राज्यवादी र दलालीहरुको खेल तोड्नु छ। हिजो सामन्तवाद र दलालको जेल तोडियो आज यिनीहरुले भयङ्कर गर्दै छन्,’ उनले भने, ‘नेपालको इतिहासले हामीलाई एक ठाउँमा ल्याइसकेको छ । जनताले हामीलाई हेरेका छन्। अब हामीले नयाँ तरीकाले समिक्षा गर्ने बेला आएको छ। जिम्मेवारी लिने बेला आएको छ।’
महासचिव विप्लवले एमाले र कांग्रेसभित्र पनि माओवादी धारका नेताहरु रहेको भन्दै माओवादी एक्लै नभएको दाबी गरे।












