वर्तमान गठबन्धनको आयु चारमहिना : पशुपति शमशेर
‘हेर्नोस् ८२ वर्ष बाँचिएछ, अब यो समयअवधिका बारेमा के गर्ने भनेर सोच्दैजाँदा एउटा अनुभवको पुस्तक नै लेख्न रहर लाग्यो र पचहत्तर प्रतिशत त लेखि नै सकें, एकतिहाई भने पूरा गर्न बाँकी छ,’ उनले भने।
काठमाडौं, चैत १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले वर्तमान सत्ता गठबन्धनको आयु त्यति लामो नदेखेको बताएका छन्।
शनिबार महाराजगञ्जस्थित विजय बासमा पत्रकारहरुसँग अनौपचारिक सम्वाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधिसभाले पूर्णकार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै तर एमाले र माओवादी सहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको बताए।
ठट्यौली शैलीमा हाँस्दै राणाले भने, ‘बढीमा चार महिना!’ नेता राणाले वर्तमान प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतले केही दिन सभामुखको भूमिका निर्वाह गरेका थिए।
‘हेर्नोस् ८२ वर्ष बाँचिएछ, अब यो समयअवधिका बारेमा के गर्ने भनेर सोच्दैजाँदा एउटा अनुभवको पुस्तक नै लेख्न रहर लाग्यो र पचहत्तर प्रतिशत त लेखि नै सकें, एकतिहाई भने पूरा गर्न बाँकी छ,’ उनले भने।
नेता राणाले आफ्ना बाजे अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले संक्रमणकालको नेतृत्व गरेर प्रजातन्त्रलाई सहयोग गरेको प्रसंग सुनाउँदै पिता बिजय शमशेरले पनि उद्योगधन्दाको जग बसाउन महत्वपूर्ण योगदान गरेको चर्चा गरे।
उनले आफूले पनि महत्वपूर्ण समयमा उल्लेख्य भूमिका निर्वाह गर्न पछि नपरेको सगर्व सुनाउँदै पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले आफ्नो प्रशंसा गरेको पनि सम्झिए।
नेता राणाले पहिला नेपाली भाषामै आफ्नो संस्मरण कृति सार्वजनिक गर्ने योजना सुनाए।












