‘गृहमन्त्रीमाथि संसदीय छानविनकाे माग पूर्वाग्रहबाट प्रेरित’
उनले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने भन्दै यसको आवश्यकता नभई कांग्रसले सरकारबाट बाहिरीनु परेको बद्लाको रुपमा उठाएको आरोप लगाए।
काठमाडौं, चैत १७ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समितिको माग पूर्वाग्रहको आधारमा प्रेरित रहेको बताएका छन्।
शनिबार सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि उनले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने भन्दै यसको आवश्यकता नभई कांग्रसले सरकारबाट बाहिरीनु परेको बद्लाको रुपमा उठाएको आरोप लगाए।
‘तत्काल सरकारबाट बाहिरिन परेको बद्लाको रुपमा उहाँहरुले विषयवस्तु राख्नुभएको हो। यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ। एकपटक उठेको विषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ यसमा प्रतिपक्षले सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘सिंगो देश र जनतालाई के भन्न्न खोज्नुभएको हो, उहाँहरुले धैर्यता राख्नुपर्छ । संसदीय समिति आवश्यकता नभइ पूर्वाग्रहको आधारमा प्रेरित होकि भन्ने देखिएको छ।’
भोलिदेखि लगातार चार दिन बैठक बस्ने भन्दै उनले भोलि प्रतिनिधिसभा अघि थप छलफलको लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको पनि जानकारी दिए।












