भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए : डा.कोइराला
दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको दाबी कोइरालाले गरे।-1711784405.jpg)
काठमाडौं, चैत १७ : कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित वीपी स्मृती सामुदायिक सहकारी अस्पतालको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता कोइरालले एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उनले बताए। टीआरसी विधेयक पास नभए अप्ठ्यारोमा पर्छु भन्ने लागेको दाहालले गठबन्धन परिवर्तन गरेको उलने बताए।
दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको दाबी कोइरालाले गरे।
‘उपसभापतिको प्रतिवेदनमा जनयुद्ध शब्द लेखिएको थियो । त्यसको विरोध प्रचण्डजीले गर्नुभयो। र महामन्त्रीको प्रतिवेदनमा उल्लेख ०८४ को चुनाव हामी एक्लैले लड्ने कुराको पनि विरोध गर्नुभयो । महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन नेपाली कांग्रेसको हो। प्रचण्डजीले कांग्रेसको प्रतिवेदन माओवादीले लेखिदेओस भन्ठान्नुभएको थियो होला,’ उनले भने।
उनले त्यो बाहेक भुराजनीतिक कारण पनि रहेको भन्दै टीआरसी विधेयकमा अब कांग्रेस लचिलो नहुने बताए । टीआरसी विधेयमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने कोइरालाले स्पष्ट पारे।
‘कांग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । कांग्रेस अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित संघसंस्थाको न्यूनतम मापदण्डलाई लिएर अघि बढ्छ । पीडितमैत्री विधेयक बन्नुपर्ने कांग्रेसको मान्यता छ । यी कुरा पूरा नभए जतिसुकै संसदबाट ऐन पास भएर आए भनेपनि त्यो ऐन लागु हुन सक्दैन’, कोइरालाले चेतावनी दिए।
स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसलाई घाटा भएको बताएका नेता डा.कोइरालाले अब कांग्रेस कुनै गठबन्धन गरेर चुनाब नलड्ने दाबी गरे। साथै उनले देश र कांग्रेसको हालत दुवै ठिक नभएको टिप्पणी गरे।










-1782735246.jpeg)
