त्रिशुली ट्याक्सी दुर्घटना : छोराको अन्तेष्टि गरेर फर्किएकी थिइन् हरिमाया, आफैं अस्ताइन्
उनीहरु जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्यष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन्।
धादिङ, चैत १७ : शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ। दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन्।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ।
मृत्यु हुनेमा ७० वर्षीय जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका(उपरकोटी), हरिमायाको छोरा आगमन उपरकोटी, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेका छन्। हरिमायाका नाती दिवस रोका भने बेपत्ता छन्।
गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन्। उनीहरु जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्यष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन्।
‘जुनमायाको छोरा शंकरको हिजो काठमाडौंम मृत्यु भएकाले उहाँहरु (मृतक शंकरका आमा, छोरा, दिदी बहिनी, ज्वाईं, भान्जा) सबै पशुपतिमा अन्त्यष्टि सकाएर आज घर फर्किदै गर्दा दुर्घटनामा पर्नुभएछ । शंकरजीलाई क्यान्सर थियो भन्ने सुनेको छु, रोका परिवारमा ठूलो आपत आएको छ’ वडाध्यक्ष श्रेष्ठले भने।
मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिबार घर फर्किँदै थिए। शंकरको श्रीमती भने अर्कै गाडीमा बसेकाले दुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए।












