‘फौजदारी न्यायको प्रभावकारिताबिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन’
प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रणाली विभिन्न निकायको विनियोजन मात्र नभई सिद्धान्त, पद्धति र मूल्य मान्यताको संयोजन रहेको बताए।
काठमाडौं, चैत १६ : प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिताबिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘फौजदारी न्यायको वर्तमान अवस्था : समस्या,चुनौती र समाधानको उपाय’ नामक अन्तरक्रिया कार्यक्रममा उनले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधारस्तम्भ रहेको भन्दै समाजमा शान्ति र सुव्यवस्था कामय गरी नारीलाई सुरक्षाको प्रत्याभुति दिलाउनका फौजदारी न्याय प्रणाली प्रसाशन प्रभावकारी र गुणस्तरीय हुनु अपरिहार्य रहेको बताएका हुन्।
उनले भने,‘हामी सबैलाई थाहा छ। फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधारस्तम्भ हो। फौजदारी न्यायको प्रभावकारीताबिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन। समाजमा शान्ति र सुव्यवस्था कामय गरी नारीलाई सुरक्षाको प्रत्याभुति दिनु राज्यको प्रमुख दायित्व हो। यसका लागि फौजदारी न्याय प्रणाली प्रसाशन चुस्त, दुरुस्त, प्रभावकारी एवंम् गुणस्तरीय हुनुपर्ने अपरिहार्य छ।’
प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रणाली विभिन्न निकायको विनियोजन मात्र नभई सिद्धान्त, पद्धति र मूल्य मान्यताको संयोजन रहेको बताए। फौजदारी न्यायका महत्वपूर्ण स्तम्भको रुपमा रहेका कानुन कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनाको लागि सम्बन्धित निकायहरुको क्रियाशीलता, प्रभावकारिता र आपसी समन्वयमा फौजदारी न्याय प्रणाली जीवन्त रहने उनको भनाई छ।
उनले भने,‘फौजदारी न्याय प्रणाली बिभिन्न निकायको विनियोजन मात्र होइन्। यो सिद्धान्त, पद्दती र मूल्य मान्यताको संयोजन पनि हो। फौजदारी न्यायका महत्वपूर्ण स्तम्भको रुपमा कानुन कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनस्थापनाको लागि सम्बन्धित निकायहरु रहन्छन्। तिनीहरुको क्रियाशिलता, प्रभावकारीता र आपसी समन्वयमा फौजदारी न्याय प्रणाली जीवन्त बन्दछ।’












