बाँझो जमिनलाई औद्याेगिक प्रयोजनका लागि प्रयोग गर्न पाउने गरी कानुन बन्न लागेको छ : मन्त्री सुडी
प्रथम नेसनल हर्टिकल्चर एक्स्पो २०८० को शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री सुडीले उत्पादन हुन नसकेका बाँझो जमिनहरु स्वदेशी तथा विदेशी उद्योगीहरुलाई २० देखि ४० बर्षसम्मका लागि लिजमा दिन सक्नेगरि कानून निर्माण भइरहेको जानकारी दिएका हुन्।
काठमाडाैं, चैत १६ : वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले बाँझो रहेका जमिनलाई औद्याेगिक प्रयोजनका लागि प्रयोग गर्न पाउने गरी कानुन निर्माण हुन लागेको जानकारी दिएका छन्।
प्रथम नेसनल हर्टिकल्चर एक्स्पो २०८० को शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री सुडीले उत्पादन हुन नसकेका बाँझो जमिनहरु स्वदेशी तथा विदेशी उद्योगीहरुलाई २० देखि ४० बर्षसम्मका लागि लिजमा दिन सक्नेगरि कानून निर्माण भइरहेको जानकारी दिएका हुन्।
उनले वन मन्त्रालयसंग सम्बन्धीत १० वटा कानूनमा सुधार गर्न लागेको जानकारी पनि दिए। पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका लागि उपत्यकामा जग्गाको अभाव भएको र भएका जग्गामा पनि नर्सरीका लागि सम्भव नदेखिएको उनले बताए। उनले वन विभागको जग्गाहरुको उपयोग गर्न दिन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने जिकिर गरे।
मेलामा ७४ वटा व्यावसायिक स्टल, चारवटा फुड स्टल, सातवटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको पाँचवटा स्टल गरी जम्मा ९० वटा स्टल रहेका छन्। कम्तीमा ५० हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने र रु एक करोडभन्दा माथिको आर्थिक कारोबार हुने अपेक्षा रहेको आयोजकको भनाइ छ। पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदशनीका लागि मेला आयोजना गरिएको हो।