मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने
माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराए।
मकवानपुर, चैत १६ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही चैत १९ गते विश्वासको मत लिने भएका छन्।
माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्।
कानुनी व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत २२ भित्र विश्वासको मत लिनुपर्नेछ। किनभने फागुन २३ गते नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
मुख्यमन्त्रीमा कायम रहन ११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाउनुपर्ने हुन्छ। तलमाथि केही भएन भने यतिखेर जम्कट्टेलले बहुमत जुटाउन सक्ने अवस्था छ ।
बिहीबार हाम्रो नेपाली पार्टीले सरकारलाई सहमति भएपछि मुख्यमन्त्रीलाई आवश्यक बहुमत जुट्ने देखिएकाे हाे। बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीकाे २ सिट छ।






