ढोलाहिटी हत्या घटनामा चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाइने
फागु पूर्णिमाका दिन चैत ११ गते राति ललितपुर महानगरपालिका–२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा उक्त हत्या भएको थियो। छुरी प्रहारबाट २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईको हत्या भएको थियो।
काठमाडौं, चैत १३ : ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या घटनामा संलग्न चारजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
फागु पूर्णिमाका दिन चैत ११ गते राति ललितपुर महानगरपालिका–२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा उक्त हत्या भएको थियो। छुरी प्रहारबाट २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईको हत्या भएको थियो। प्रहरीले हत्यामा विजय राई संलग्न भएको भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
राई पपिना रेस्टुरेन्टका सञ्चालक हुन्। आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित पपिना रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो। उक्त घटनामा चक्कु प्रहार गर्ने विजय राई यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो। उक्त घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये प्रहरीले मंगलबार बिहान खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई ललितपुर–१५, खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राईलाई सार्वजनिक गरेको छ।
हत्या प्रकरणपछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तत्काललाई पक्राउ परेका ४ जनाविरुद्ध मात्रै मुद्दा अघि बढाउने तयारी भइरहेको छ।










-1782735246.jpeg)
