मर्यादित ढंगले मनाइयाे होली, समाज सभ्य बनेकाे संकेत
ललितपुरमा भएको दुर्घटनाबाहेक अन्यत्र मर्यादित रुपमा होली मनाइएको काठमाडौ उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइ छ।
काठमाडौं, चैत १२ : बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो। कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो। सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो।
'लोला कहाँबाट कसले हान्यो थाहा छैन। लोला प्रहारले निकै पीडा दियो', खड्काले पाँच वर्षअघिको अनुभव सुनाउइन्। उनको स्मृतिमा त्यो पीडा अहिले पनि ताजै छ।
'अरुलाई पीडा दिने गरी लोला हानेर बुरा नमानो होली है भन्नु राम्रो होइन। अरुलाई दुःख दिएर होली कसरी सद्भावको पर्व बन्ला रु,' उनले भने।
तर अहिले समय फेरिएको छ। होली तुलनात्मकरुपमा सभ्य बन्दै गइरहेको उनको अनुभव छ। भावनाकै अनुभवमा होली पाँच वर्ष अघिको जस्तो छैन। होली मनाउने तरिका फेरिएको छ। मानिसहरुको शैली बदलिएको छ।
आइतबार तीनकुनेस्थित खुल्ला चौरमा साथीसँग होली खेल्दै गरेकी उनलाई कुनै अपरिचितले रङ लगाइदेला र लोला हान्ला भन्न संशय थिएन। नेपाल प्रहरीले कसैलाई जबरजस्ती छुन नपाइने र अनुमतिबिना होली खेल्न नहुने भन्दै कारबाही सुरु गरेपछि होली सभ्य बन्दै गएको उनको बुझाइ छ।
खड्कको जस्तै अनुभव छ, कीर्तिपुरका झरना मर्हजन र सिर्जना बस्नेतको। उनीहरु दुवैजना होली खेल्न वसन्तुपुर पुगे। तर बाटोमा कसैले दुर्व्यवहार गरेनन्। कसैले जबरजस्ती रङ दलेनन्। लोला हानेनन्। 'अहिले त होली निकै अनुसाशित ढङ्गले खेल्न थालिएछ', उनीहरूले भने, 'सुरक्षित र सभ्य भएपछि थप रमाइलो पनि भएको छ।'
आइतबार होली खेल्न वसन्तपुर पुगेकी झापाकी जुना विश्वकर्मा पनि होलीमा कसैले दुर्व्यवहार नगरेको बताए। 'होस्टेलमा बस्ने हाम्रा लागि होस्टेलको नियम पनि मान्नुपर्छ। खुलेर होली खेल्ने छुट थिएन। तर पनि वसन्तपुर पुगेर राम्रोसँग मनाउन पाइयो', उनले भनिन्। उनले राति अबेरसम्म साथीहरुसँग रङ खेलेर होली मनाइन्।
'प्रहरीको उपस्थिति र निगरानी पनि राम्रो थियो। यसले हामीलाई निर्धक्कसँग होली खेल्न सहज भयो', उनले भनिन्, 'विगतमा होली खेल्न जाँदा केटाहरुलाई सुरक्षा गार्ड बनाएर हिँड्नु पर्दथ्यो। केटी मात्रै देख्यो त समाएर जथाभावी रङ दलेर दुख दिन्थे।' तर यसपाली कसैको साहरा बिना होली खेलेको उनले सुनाइन्।
होस्टेलका केटी साथी मिलेर स्वतन्त्र रुपमा होली खेलेको जुना बताउँछिन्। 'होली खेल्नुपर्छ तर गलत मनसायले छोएको कसलाई मन पर्छ र?', उनले भनिन्, 'यसपाली होली मर्यादित रुपमा खेलिएको महसुस गरेकी छु।'
समाजशास्त्री मीना पौडेल पहिले होलीपर्व सुन्दै डराउँथिन्। खेल्ने र रमाइलो गर्ने त कुरै रहेन। उनीसँग पर्वका नाममा गरिएको दुर्व्यवहारको पीडादायी अनुभव छ। २०४२ सालमा क्याम्पस पढ्न काठमाडौँ आएको वर्षको होलीले उनलाई तर्साएको हो।
'रत्नपार्कतर्फ जाँदै थिएँ, दूधको प्याकेटमा ढलको पानी मिसाएर मुखैभरी छ्यापे। त्यतिबेला सहनुबाहेक केही विकल्प थिएन', उनले सुनाइन्। मीनालाई उक्त घटनाको असर आजसम्म पनि उत्तिकै छ।
तर, अहिले समय बदलिएको छ। समाज सभ्य बन्दै गएको सङ्केत होली पर्वबाट महसुस हुने उनको भनाइ छ। विगतमा होली पर्व नाममा महिलामाथि कुदुष्टि राख्ने गरिन्थ्यो भने अहिले मित्रवत र मर्यादित व्यवहार गर्ने शैली बढेको छ। 'अचेलका युवा पुस्ता चेतनशील हुँदैछन् भन्ने सङ्केत पनि हो', उनले भनिन्, 'यसको कारण प्रहरी प्रशासनको कडाइ पनि हो।'
काठमाडौ उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनाली विगतको तुलनामा होली खेल्ने शैलीमा निकै सुधार आएको बताउँछन्।
होली पर्व सभ्य बनाउनकै लागि उपत्यकामा उल्लेख्य मात्रामा सुरक्षाकर्मी खटिएका थिए। सादा पोशाकमा प्रहरी परिचालनदेखि ड्रोन र सिसी क्यामरामार्फत निगरानी गरिएको उनले जानकारी दिए। ललितपुरमा भएको दुर्घटनाबाहेक अन्यत्र मर्यादित रुपमा होली मनाइएको उनको भनाइ छ। (रासस)










-1782735246.jpeg)
