ढोलाहिटीमा दुईजनाको हत्या प्रकरण : पक्राउ पर्नेको संख्या १८ पुग्यो
होली खेल्ने क्रममा उत्पन्न विवादका कारण आइतबार राति पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय प्रजन राईलाई चक्कु प्रहार गरी हत्या भएको थियो।
काठमाडौं, चैत १२ : ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा भएको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ।
होली खेल्ने क्रममा उत्पन्न विवादका कारण आइतबार राति पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय प्रजन राईलाई चक्कु प्रहार गरी हत्या भएको थियो। ज्यान गुमाएका व्यक्ति र आरोपित सबै आपसमा चिनजानकै रहेको प्रहरीले जनाएको छ।
रेस्टुरेन्टमा सँगै बसेर मदिरा खाइरहेका बेला दुईजनामाथि चक्कु प्रहार भएको थियो। प्रहरीका अनुसार मदिरा सेवन गर्न रेस्टुरेन्ट पुगेका युवा र सञ्चालकबीच विवाद हुँदा यस्तो घटना भएको थियो।
पक्राउ परेका विजय राईले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका १८ जनाको विषयमा अनुसन्धान भइरहेको छ।
आइतबार राति दुई समूहका युवाहरु होलीमा रङ खेलेर राति खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेका थिए। सोही क्रममा राति १० बजेतिर झडप भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। स्थानीयसँग प्रहरीले सोधपुछ गर्दा कसैले पनि घटनाबारे जानकारी नभएको बताएका छन्।
रोबस घर बाहिर र पुजन घरभित्र ढलेको अवस्थामा आ-आफ्ना समूहको सहयोगीले अस्पताल लगेका थिए। दुवै जनाको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।










-1782735246.jpeg)
