रुसमा भएको आतंकवादी घटनाका चारजनाविरुद्ध कारबाही सुरु
चारैजना केही समयदेखि रूसमा बस्दै आएको खुलेको छ। चारै जनाविरूद्ध अदालतमा आतंकवादको आरोप लगाइएको छ। सिएनएनका अनुसार उनीहरूले आफूविरूद्ध लगाइएको आरोप पनि स्वीकार गरिसकेका छन्।काठमाडौं, चैत १२ ः रूसको मस्कोस्थित कन्सर्ट हलमा अन्धाधुन्ध गोली चलाएको आरोपमा पक्राउ परेका चार जनाविरूद्ध कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
शनिबार पक्राउ परेका चार जनालाई आइतबार मस्कोस्थित अदालतमा उपस्थित गराई कारबाही प्रक्रिया अगाडि बढाइएको सिएनएनले जनाएको छ। पक्राउ पर्नेहरूमा ३२ वर्षीय डलेर्दझोन मिर्जोयभ, २९ वर्षीय शैदाक्रमी रचाबलिजोदा, २६ वर्षीय शमसिदिन फरिदुनी, २० वर्षीय मुहम्मदसोबर फइजोव छन्। पक्राउ परेका उनीहरु ताजकिस्तानका नागरिकहरू रहेको बताइएको छ। शुक्रबार कन्सर्ट हलमा आक्रमण हुँदा १३३ जना सर्वसाधारणको मृत्यु भएको थियो भने दजनौंको संख्यामा घाइते भएका थिए।
चारैजना केही समयदेखि रूसमा बस्दै आएको खुलेको छ। चारै जनाविरूद्ध अदालतमा आतंकवादको आरोप लगाइएको छ। सिएनएनका अनुसार उनीहरूले आफूविरूद्ध लगाइएको आरोप पनि स्वीकार गरिसकेका छन्। अदालतमा उपस्थित गराउँदा चारै जना घाइते अवस्थामा थिए। कसैको आँखा सुन्निएको, कसैको अनुहारमा चोटपटक थियो। एकजना ह्वीलचियरमा थिए। घाइते अवस्थामा रहेका उनीहरूलाई दुई÷तीन जना सेनाले घिसार्दै अदालतमा उपस्थित गराएका थिए।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि २२ मे सम्म हिरासतमा राख्न आदेश भएको रूसी सञ्चारमाध्यहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिँदै संलग्नहरूलाई कडा कारबाही गर्ने बताइसकेका छन्।