Kathmandu Press

होलीमा विशेष सुरक्षा योजना : उपत्यकामा ड्रोनबाट निगरानी

यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ।
होलीमा विशेष सुरक्षा योजना : उपत्यकामा ड्रोनबाट निगरानी

काठमाडौं, चैत ११ : नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मंगलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ। यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आजदेखि तीन दिनका देशभर २९ हजार सात सय ३३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए। उनले भने, 'सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर सो सङ्ख्यामा प्रहरी परिचालन भएका छन्, विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ।' होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ। 

यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्यूटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ। प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ। 

Hardik ivf

होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताए। उनले भने, 'काठमाडौँ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ–ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ, उच्छृङ्खल गतिविधि गर्नेलाई कारवाही हुन्छ।' 

होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाका र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखिनै जाँचको व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् भने ३० वटा मोबाइल भ्यान परिचालन भएका छन्। 

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँले फागुपर्व ९होली० लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाको सुरक्षाव्यवस्थामा कडाइ गरेको छ। होली पर्वलाई सुरक्षित, मर्यादित बनाउन काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

उनले भने, 'हामीले सव्य, भव्य तरिकामा फागुपर्व मनाउन सबैमा आग्रह गरेका छौँ, कानुन बिपरीत अबाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनन बमोजिम कडाभन्दा कडा कारवाही गरिनेछ।' 
यसवर्षको होली पर्वका लागि उपत्यकामा मात्रै दुई हजार पाँचसय पोशाकधारी तथा पाँच सय जना सादा पोशाकमा गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

होली पर्वमा काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लापसे गरी सवारी चलाउने, मापसे गरी हो–हल्ला गर्ने, सर्व साधारणलाई त्रसिद बनाउनेलाई कडा कारवाही गरिने भन्दै प्रहरीले अहिले ठाउँ ठाउँमा माइकिङ समेत गरिरहेको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता अधिकारीका अनुसार आज दिउँसो १२ बजेसम्म उपत्यकामा होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएका छैनन्। उनले भने, 'होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएको खबर आएका छ्रैनन, घटना हुन नदिन प्रहरी निकै चनाखो छ।'

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाईका साथ चेकजाँचको व्यवस्था गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए। उनले भने, 'शान्त वातावरणमा होली मनाउन सबैमा आग्रह गरेका छौँ, होलीमा हुने सबैखाले गतिविधिहरु बिहानैदेखि ड्रोनबाट पनि निगरानी बढाइएको छ।' 

काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईका क्षेत्रमा भोलि होली पर्व मनाइँदैछ। यसवर्ष काठमाडौँमा मर्यादितरुपमा होली मनाइरहेको देखिएको छ। युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा आइ रङ खेलेर रमाइलो गरिरहेका देखिन्छन्। उनीहरु एकापसमा रङ र अविर साटासाट गरी रमाइलो गरिरहेका छन्। तर विगतका वर्षमा जस्तो जवरजस्ती बटुवा वा अपरिचित व्यक्तिलाई रङ फाल्ने तथा लोला हान्ने गतिविधि गरेका छैनन्।  

होलीपर्वलाई मर्यादित बनाउन प्रहरीले पनि गस्तीहरु बढाउने, माइकिङ गरी आआफैं पर्व मनाउन र कसैलाई जबर्जस्ती नगर्न आग्रह गरिरहेको छ। त्यसैगरी चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम पनि बढ्नसक्ने देखिएकाले त्यसो नगर्न पनि प्रहरीले आग्रह गरिरहेको छ।

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्