मिठास पुरानै होली गीतमा
त्यसो त हाम्रा हरेक पर्वमा गीत संगीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि संगीतको विशेष महत्व छ। संगीतबिना हाम्रा पर्व अधुरा छन्।
काठमाडौँ, चैत ११ : होली रङको मात्रै पर्व होइन, यो संगीतको पनि पर्व हो। होलीमा रङजस्तै गीत संगीतको स्थान पनि महत्वपूर्ण छ। त्यसो त हाम्रा हरेक पर्वमा गीत संगीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि संगीतको विशेष महत्व छ। संगीतबिना हाम्रा पर्व अधुरा छन्।
‘होलीले रङ्ग्यायो मेरो चोली...’ चलचित्र अधिकारको यो गीत हरेक जसो होलीमा नछुट्ने गीतमा पर्छ। होली सुरु भएसँगै रेडियो, टेलिभिजन र युट्युबमा यो गीत बज्न सुरु भइहाल्छ। राजेश हमाल, मिथिला शर्मा, कृष्टि मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाहलगायतका कलाकारको नृत्य रहेको यो गीत मौलिकताकै कारण आजसम्म लोकप्रिय भएको धेरैको बुझाइ छ।
'इन्द्रेणी रङ लिइ आयो होली, फागुन महिनामा खेलौं होली... सरसरसर होली हो...’ शम्भुजित बाँस्कोटाको संगीत रहेको यस गीतमा उदितनारायण झा र दीपा नारायण झाले स्वर दिएका छन्। गीतले होलीको महत्व अझ बढाएको छ।
चलचित्र ‘वसन्ती’मा समावेश ‘रातो रातो पहेंलो...’, होस वा चलचित्र ‘सीता’ मा समावेश ‘होली रे होली रे’ पनि अहिले पनि उत्तिकै लोकप्रिय छन्। होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई संगीतकार अर्जुन पोखरेलले स्वाभाविक रुपमा लिनुभएको छ।
उनले पुराना गीतमा चाडपर्वको प्रसंग र सोही वातावरणमा गीतसंगीतको दृश्यांकन गरिएकाले ती गीत कालजयी भएको उनको बुझाइ छ। 'पुराना चलचित्रमा अधिकांश गीतहरू प्रसङ्गसहित आएका थिएँ। त्यहि भएर दर्शकको रोजाइमा पर्न सफल भए। चलचित्रमा भएका गीतसंगीतले तुलनात्मकरुपमा बढी प्रचार पाउछन, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ,' सङगीतकार पोखरेलले भने।
संगीतकार पोखरेलझैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउनुहुन्छ। नयाँ गीत आइरहेता पनि उनलाई स्मरण छैन। 'म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै गीत नै मन पराइन्छ। पुराना केही गीत जनजिब्रोमै छन्,' गायक गिरीले भने। यद्यपि पछिल्लोको होलीमा आधुनिक र हिन्दी गीत बढी गुञ्जिने हुँदा यसको मौलिकता हराउन सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन्।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ।
यो पर्वमा गीत–संगीतको आफ्नै महत्व छ। ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन्। ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिने गरेका छन्।










-1782735246.jpeg)
