शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यक : उपमहासचिव शर्मा
देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्दै उनले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताए।खोटाङ, चैत १० : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन्।
पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।
'देशमा राजनीतिक अस्थिरता छ। राजनीतिक अस्थितरताले जनतामा निराशा छाएको छ। यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्वक छ', उनले भने, 'राजनीतिक दलहरूले एजेण्डामा सहमति गर्नुपर्यो। राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन।'
देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्दै उनले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताए।
'नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्यो,' उनले भने, 'सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ।'
नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताए। 'संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिताजस्ता उपलब्धि माओवादीको दशवर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो। यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन्। यो खतराको विषय हो', उनले भने।










-1782735246.jpeg)
