पुराना कम्युनिष्ट नेता कृष्णदास श्रेष्ठको निधन
काठमाडौं, फागुन १२ : नेपालको कम्युनिस्ट आन्दोलनका एक जना पुराना नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा आइतबार दिउसो १ बजेर ४० मिन....

काठमाडौं, फागुन १२ : नेपालको कम्युनिस्ट आन्दोलनका एक जना पुराना नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा आइतबार दिउसो १ बजेर ४० मिनेट जाँदा आफ्नै निवास शंखमूलमा निधन भएको हो ।
श्रेष्ठ लामो समयदेखि अस्वस्थ थिए । पुराना कम्युनिष्ट उनले त्यससँग सम्बन्धित साहित्य र दर्शनका पुस्तकहरू निकै अनुवाद गरेका थिए ।
नेकपा (माओवादी क्रान्तिकारी) का अध्यक्ष मोहन बैद्यले शोक वक्तव्य प्रकाशित गर्दै भनेका छन्, ‘एउटा नेता, माक्र्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक तथा अनुवादक क. कृष्णदास श्रेष्ठको छ । वहाँको निधनले हाम्रो पार्टीलाई स्तब्ध तुल्याएको छ । वहाँको निधनले नेपालको जनवादी तथा कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ ।’
पछिल्लो समय श्रेष्ठ बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का सल्लाहकार थिए । बैद्यले शोक सन्तप्त परिवारजन तथा शुभेच्छुकहरु सबैमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
‘सर्वहारावर्ग, वर्गसंघर्ष, राष्ट्रिय स्वाधीनता, सर्वहारा क्रान्ति, वर्ग प्रतिबद्धता र जनमुक्तिप्रति अटुट आस्था क. कृष्णदासका जीवनका अनुकरणीय गुण हुन्’, बैद्यले भनेका छन्, ‘मानव मुक्तिको महान् तथा उच्च लक्ष्यमा सम्पूर्ण जीवनको समर्पण गर्नु नै जीवनको सार्थकता रहेको कुरालाई आत्मसात गरी कम्युनिस्ट आदर्श र सर्वहारावर्गीय उदात्तताका पक्षमा उभिनुभएका क.कृष्णदास श्रेष्ठ क्रान्तिकारी कम्युनिस्ट र वर्गसंघर्षका पक्षमा लाग्ने मानिसहरुका निम्ति एक आदर्श व्यक्तित्व हुनुहुन्छ ।’











