होली पर्वमा काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थामा कडाइ
ट्राफिकले बिहान ७ बजेदेखि सवारी जाँच गर्ने र जसका लागि नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने बताएको छ।
काठमाडौं, चैत १० : फागु अर्थात होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने भएको छ। पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिकले यस्तो व्यवस्था गर्न लागेको हो।
ट्राफिकले बिहान ७ बजेदेखि सवारी जाँच गर्ने र जसका लागि नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने बताएको छ। उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ।
दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो।
होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरित सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकको भनाइ छ।
ट्राफिकले ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राख्ने प्रहरीको तयारी छ। मादकपदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी गर्ने भएको छ।












