Kathmandu Press

कार्कीको नेतृत्वमा पुनः मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन

उच्च अदालतका पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा गठित् तीन सदस्यीय आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन्।
कार्कीको नेतृत्वमा पुनः मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन

काठमाडौं, चैत ९ : बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व न्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ।

उच्च अदालतका पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा गठित तीन सदस्यीय आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन्।

Hardik ivf

आयोगलाई अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।

सरकारले यसअघि पनि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले समस्याको निदान गर्न नसकेको भन्दै मिटरब्याज पीडितहरु पुनः २३ दिन पैदल हिंडेर काठमाडौं आएर आन्दोलन गरेका थिए।

सरकारले पीडितसँग नयाँ आयोग बनाउने सहमति गरेपछि आन्दोलन रोकिएको थियो। पीडितसँग भएको सहमतिअनुसार गृह मन्त्रालयको प्रस्तावमा आयोग गठन गरिएको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले दिइन्।

अघिल्लो कार्की आयोगले पाँच हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको बताइएको थियो। 

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्