Kathmandu Press

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव  

सम्मेलनको उद्घाटन गरेका उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सकको संख्या बढाएर व्यवस्थित सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताए।
व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव  

काठमाडौं, चैत ९ : सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन २०२४ आजबाट ललितपुरमा शुरु भएको छ।

सम्मेलनको उद्घाटन गरेका उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सकको संख्या बढाएर व्यवस्थित सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताए।

Hardik ivf

शुक्रबार ललितपुरमा आयोजित सम्मेलनमा स्वास्थ्य मन्त्री यादवले कोरोना महामारी तथा प्राकृतिक विपत्तिको समयमा नेपालमा सबैभन्दा धेरै आपतकालिन चिकित्सा सेवाको उपयोग भएको स्मरण गर्दै त्यसको महत्वलाई भूल्न नसकिने बताए। कोभिडको समयमा जनरल स्वास्थ्य चिकित्सकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको र त्यसलाई भुल्न नसकिने यादवको भनाई छ। 

यादवले सम्मेलनको सफलताको लागि शूभकामना दिँदै सामान्य अभ्यास र आपतकालीन चिकित्सा सम्बन्धी सम्मेलनले निकालेको निष्कर्षलाई स्वास्थ्य मन्त्रालयले महत्वको साथ लिने बताए। मन्त्री यादवले भने, ‘हामीले सामान्य अभ्यास कर्ताकहरुको संख्या बढाएर सेवा प्रवाहलाई अझ व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता हो। यो कुरालाई स्वास्थ्य मन्त्रालयले बुझेको छ। तपाईंहरुले सम्मेलनबाट जुन निष्कर्ष,सुझावहरु दिनुहुने छ त्यो मन्त्रालय र तपाईंहरुका लागि महत्वपूर्ण हुनेछ।’

यादवले सम्मेलनको ‘सामान्य अभ्यास र आपतकालीन औषधिको समन्वयनः राम्रो भविष्यको लागि स्वास्थ्य सेवाहरु परिवर्तन’ भन्ने नारा यर्थाथमा परिणत हुनुपर्नेमा जोड दिए।  कार्यक्रममा नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा मनोनित डा.चोपलाल भुसालले आपतकालीन चिकित्सा सेवा प्रवाहसँगै विशेषज्ञ सेवा सबै जिल्ला अस्पतालहरुमा विस्तार र व्यवस्थित गर्नुपर्नेमा जोड दिए। 

सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उनले भने, ‘सबै जिल्ला अस्पतालहरुमा जसरी भए पनि एमजीडिपीलाई पोस्टिङ गर्नुपर्छ। सबै ठाउँमा विशेषज्ञ सर्जन, विशेषज्ञ गाइनोको डाक्टर पठाउन सम्भव नहोला तर, उनीहरुनै सर्जन,गाइनोक्लोजिस्ट,अर्थोपेडिसियन, फिजिसियन हुन्। उनीहरुसँगै सबै प्रकारको नलेज हुन्छ। त्यसैले रुलर एरियाको स्वास्थ्य सेवा सुविधाको ग्याप पूरा गर्ने हो भने जिल्ला अस्पतालका स्वास्थ्य सिस्टमलाई एमजीडिपीमा प्रमोट गरेर त्यहाँ पुर्याउनुपर्ने हुन्छ। यो वास्तविक तथ्य हो।’
 

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्