उपनिर्वाचनका लागि इलाम कांग्रेसबाट ७ जनाको नाम सिफारिस
पहिलो नम्बरमा सिफारिस भएका अचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए।
इलाम, चैत ७ : प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस, इलाम क्षेत्रीय समितिले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ।
१५ वैशाखमा हुने इलाम–२ को निर्वाचननका लागि भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम प्रदेश कार्यसमितिमा पठाइएको हो। प्रदेशले केन्द्रमा पठाउनेछ।
पहिलो नम्बरमा सिफारिस भएका अचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए। उनी कांग्रेस महासमिति सदस्य समेत हुन्।
अर्का आकांक्षी खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित भएका थिए। थापा पूर्व सांसद तथा पूर्वराज्यमन्त्री हुन्। नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष तथा पूर्व सांसद हुन्।
कांग्रेसको क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको जनाइएको छ।












