उपसभामुख रानामगर र सांसद खतिवडाबीच जुहारी
प्रि–बजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएको बिषयमा सांसद खतवडा र उपसभामुख रानामगरविच जुहारी चलेको हो।
काठमाडौं, चैत ७ : प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र उपसभामुख इन्दिरा रानामगरबीच जुहारी चलेको छ। प्रि–बजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएको बिषयमा सांसद खतवडा र उपसभामुख रानामगरविच जुहारी चलेको हो।
खतिवडाले उपसभामुख रानासँग संसदमा अर्थमन्त्री बर्षमान पुनलाई उपस्थित गराउन आग्रह गरेका थिए। उनले प्रतिनिधि सभा नियमावीअनुसार सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुने पनि बताए। खतिवडाले आफुले केहीबेर कुर्ने भन्दै मन्त्री पुनलाई उपस्थित गराउन माग गरे। खतिवडाको मागपछि उपसभामुख अर्थमन्त्री राष्ट्रिय सभामा जबाफ दिने कार्यक्रम प्रारम्भ भएकाले त्यहाँ गएको बताइन्। उनले मन्त्री पुन केहीबेरमा आउने जानकारी पनि दिइन्। खतिवडाले मन्त्री पुनको माग गरिरहँदा उनी राष्ट्रिय सभामा थिए।
उपसभामुख रानामगरले भनिन्, ‘तपाईं आफ्नो भनाइ राख्दै गर्नुस् माननि ज्यु, मन्त्रीज्यू आउँदै हुनुहुन्छ।’ त्यसपछि सांसद खतिवडा अलिकति झोक्किए। उनले मन्त्रीलाई कुन बेला राष्ट्रिय सभा र कुन बेला प्रतिनिधि सभामा पठाउने भनेर मिलाउने काम सचिवालयको भएको भनाई राखे। प्रतिनिधि सभामा छलफल भइरहेको बेला आलोपालो बनाउन सकिने बताउँदै खतिवडाले भने, ‘अहिले मन्त्रीको उपस्थिति चाहियो।’ खतिवडाको अडानपछि उपसभामुख रानामगरले प्रश्न गरिन् ‘अब पर्खि बस्नै नै हो ?’
त्यसपछि सांसद खतिवडाले प्रतिनिधि सभा नियमावलीले नै मन्त्रीको उपस्थिति अनिवार्य गरेको भनाई दोहोर्याए र भने, ‘ठीक छ सभामुख महोदय, रातिसम्म पर्खिनुहुन्छ भने हामी पनि पर्खिन्छौं।’ त्यसपछि फेरी एकपल्ट खतिवडालाई आफ्नो भनाई राख्दै गर्न उपसभामुख रानामगरले आग्रह गरिन्। सांसद खतिवडाले ‘पर्खिन्छु’ भन्दै अडान लिइरहेपछि फेरी उपसभामुख रानामगर बोलिन्, ‘पर्खिनुहुन्छ भने खाजाको पनि व्यवस्था गरौंला।’
उपसभामुखको यो कुराले खतिवडाको अनुहारमा हल्का मुस्कान छायो। खाजाका लागि आफू पनि तयार रहेको बताए। उनले ठट्याली शैलीमा भने, ‘सभामुख अलिकता भोकाएको जस्तो लाग्यो। त्यसको व्यवस्था गर्न हामी पनि तयार छौं। बरू संसद कोषबाट नै निर्माण गर्नुपर्छ भनेपनि तयार छौं।’ यसरी दुईजनाविच जुहारी चल्दैगर्दा अर्थमन्त्री पुन पनि संसद प्रवेश गरे। उपसभामुख रानामगरले आफ्नो भनाइ राख्न भनेपछि सांसद खतिवडा पनि विषयमा प्रवेश गरे।












