‘दलित समुदायलाई माथि उठ्न राज्यले नदिएकोे गलत भाष्य निर्माण भयो’
मन्त्री बस्नेतले दलित समुदायमा रहेका समस्या र विकृतिहरुको पहिचान गरी र ती समस्याहरुलाई सबै मिलेर निर्मुल पार्न आवश्यक रहेको बताए।
काठमाडौं, चैत ७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दलित समुदायलाई माथि उठ्न नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण भइरहेको बताउँदै यस्तो नगर्न आग्रह गरेका छन्।
बुधबार राजधानीमा आयोजित ‘राज्यसत्तामा दलित समुदायको पहुँच र मुक्तिका लागि बैचारिक वहस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दलित समुदायमा रहेका समस्या र विकृतिहरुको पहिचान गरी र ती समस्याहरुलाई सबै मिलेर निर्मुल पार्न आवश्यक रहेको बताए।
उनले भने, ‘ केही भएन भन्ने ठाउँबाट केही भएको छ भन्ने ठाउँमा पुगेका छौं। यसलाई किन प्रगति नमान्ने ? दलित समुदायको उत्थान हुन नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण गरिन्छ। म आग्रह गर्न चाहान्छु यस्तो भाष्य निर्माण नगरिदिउँ। यसले जनतामा दलत सन्देश प्रवाह गर्छ। दलित समुदायमा रहेका समस्या र विकृतिहरुको पहिचान गरि र ति समस्याहरुलाई सबै मिलेर निर्मुल पार्न आवश्यक छ।’
समुदायमा रहेका जातीय विभेदमध्य छुवाछुत एकदमै विकृत र विकराल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसलाई हटाउन सवै वर्ग सजग र सचेत हुन आवश्यक औंल्याए।
नेपालको संविधानमै समावेशी सहभागिताको प्रबन्ध गरेको उल्लेख गर्दै कार्यान्वयमा लग्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘अलि पढेलेखेका मान्छेको माध्यमबाट गाउँगाउँसम्म पुर्याउन आवश्यक छ। बोलेर होइन व्यवहारमा परिवर्तन आवश्यक छ। अहिलेसम्म दलितसमुदायले पाएका अधिकारहरुलाई अन्दाज गर्न मिल्दैन। सहभागी , सशक्तिकरणका सबै कुराहरु संविधानमा उल्लेख छ। बस आवश्यक्ता यसको कार्यान्वयनको हो।’












