‘मैले यहाँ अर्थमन्त्री देखिनँ, उहाँ नै नभएपछि कसलाई सुनाउने?’
बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफल भइरहेकाले अर्थमन्त्री बाेल्नुकाे औचित्य नभएकाे बुझाइ उनमा देखिएकाे थियाे।
काठमाडौं, चैत ७ : आजकाे प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राप्रपाकी सांसद विना लामालाई बाेल्न समय दिइन्। तर रोस्ट्रममा पुगेर उनले बाेल्न मानिनन्।
उनले अर्थमन्त्री वर्षमान पुनको उपस्थितीबिना नबोल्ने अडान लिइन्। बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफल भइरहेकाले अर्थमन्त्री बाेल्नुकाे औचित्य नभएकाे बुझाइ उनमा देखिएकाे थियाे। ‘मैले यहाँ अर्थमन्त्री देखिनँ। उहाँ नै नभएपछि कसलाई सुनाउने? अर्थमन्त्रीलाई बोलाउन पाइयो भने राम्रो हुन्थ्यो। अर्थमन्त्री नहुँदा कसलाई सुनाउने?’
उपसभामुखले अर्थमन्त्री अर्को प्रतिनिधि राखेर खाना खान गएको बताइन्। तर सांसद लामाले त्यसकाे अर्थ अर्कै लगाइन्। ‘यसमा पनि विभेद भएको जस्तो लाग्यो। जब राप्रपा आउँदा उहाँ उठेर जानू भनेको विभेदकारी नै हो। यसमा म आपत्ति जनाउन चाहन्छु। अर्थमन्त्री चाहियो,’ उनले भनिन्।
समय बढी दिने भन्दै उपसभामुखले बोलिरहन भनिन्। ‘मलाई १० मिनेट दिइएको छ, १० मिनेटमा पनि उहाँ आउनुभएन भने सदस्यहरूलाई मात्रै सुनाऔं?’ लामाले भनिन्।
उपसभामुखले लामालाई पछि बोलाउने भनेर जसपा सांसद प्रदीप यादवलाई समय दिएलगत्तै अर्थमन्त्री आए। त्यसपछि बाेल्न थालेकी सांसद लामाले भनिन्, ‘अर्थमन्त्री आइदिनुभयो धन्यवाद । नत्र मलाई लागेको थियो राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो।’












