क्रिकेट विकासमा सहयोग गर्ने आईसिसी अध्यक्षको प्रतिबद्धता
भेटमा उनीहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो।काठमाडौं, चैत ६ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष ग्रेग बार्कलेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङसँगको भनेटमा आइसिसी अध्यक्ष बार्कलेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए।
उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
राखेप सदस्य–सचिव घिसिङले अध्यक्ष बार्कलेसँगको भेटवार्तामा खेल पूर्वाधारका विषयमा चासो व्यक्त गरे। भेटमा उनीहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो।
सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताए।
सदस्य सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रङ्गशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको आइसिसी अध्यक्ष बार्कलेलाई जानकारी गराए।
उनले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी–२० विश्वकपका लागि आइसिसीबाट सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बार्कलेमार्फत आइसिसीलाई धन्यवाद दिए।
सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहने गरेको स्मरण गराउँदै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइ दिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गरे।
भेटमा नेपाल क्रिकेट संघ (क्यानं)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्कालगायत सहभागी थिए।