आशा जगाउन सकिएन भने देश अप्ठेरोमा जाने खतरा छ : प्रधानमन्त्री
‘जनतामा आशा र विश्वास जगाउनुको विकल्प अब हामीसँग छैन। यो नयाँ राजनीतिक समीकरण र यो संकल्पले पनि जनताका लागि डेलिभरी भएन, जनातामा नयाँ आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा छ,’ उनले भने।
काठमाडौं, चैत ६ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणबाट पनि जनतामा आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा रहेको टिप्पणी गरेका छन्।
मंगलबार सत्ता साझेदार दलका ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा आशा र विश्वास जगाउनुको विकल्प नरहेको बताएका हुन्।
‘जनतामा आशा र विश्वास जगाउनुको विकल्प अब हामीसँग छैन। यो नयाँ राजनीतिक समीकरण र यो संकल्पले पनि जनताका लागि डेलिभरी भएन, जनातामा नयाँ आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा छ,’ उनले भने।
नयाँ सत्ता समीकरण आफ्नो प्रधानमन्त्री पदको कारणले नभइ जनताको विकास र समृद्धिको आकांक्षा र आवश्यकताको आधारमा बनेको प्रधानमन्त्री दाहालको दाबी थियो।
‘यो नयाँ समीकरण प्रधानमन्त्रीका रुपमा मेरो पदको कारणले बनेको छैन । जनताको विकास र समृद्धिको आकांक्षा अझ सम्बोधन गर्ने र जनताका आवश्यकतासँग यो समीकरण सम्बन्धित छ,’ उनले भने।
नयाँ मन्त्रिपरिषद् गठन भएलगत्तै धेरै राम्रा कामहरु भएको उल्लेख गर्दै उनले सडकमा आन्दोलन गर्ने लद्युवित्त पीडितदेखि माइतीघरमा आन्दोलन गर्ने कयौंका समस्या समाधान गर्ने प्रक्रिया सुरु भएको बताए।












