‘विगतका अनुभवबाट शिक्षा लिएर परिणाम निकाल्ने गरी साझा कार्यक्रम तय गरिएको छ’
उनले साझा कार्यक्रमलाई कार्यान्वयन गर्न तत्परता जरुरी रहेको धारणा राखे। नीति र कार्यक्रम भाषामा भन्दा जनतामाझ लैजाने कुरालाई महत्व दिइने बताए।
काठमाडाैं, चैत ६ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर परिणाम निकाल्ने गरी साझा कार्यक्रम तय गरिएको बताएका छन्।
सिंहदरबारमा मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक कार्यक्रममा उनले साझा कार्यक्रमलाई कार्यान्वयन गर्न तत्परता जरुरी रहेको धारणा राखे। नीति र कार्यक्रम भाषामा भन्दा जनतामाझ लैजाने कुरालाई महत्व दिइने बताए।
प्रधानमन्त्री प्रचण्डले जनतामा नयाँ आशा भरोषा जगाउने बाहेक कुनै बिकल्प नरहेको भन्दै यसबाट पनि जनतामा भरोषा दिलाउन नसके देश ठूलो संकटमा जाने जिकिर गरे। उनले नयाँ समिकरण आफ्नो पदका कारण नभई देश र जनताका लागि बनेको दाबी गरे।
साझा कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने, पीडितलाई केन्द्रमा राखी तथ्यको आधारमा सत्य स्थापित गर्ने र सत्यको आधारमा न्याय, क्षतिपूर्ति, परिपुरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाको सम्बोधन गर्ने विषयलाई समावेश गरिएको छ।
त्यसमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षालाई केन्द्रबिन्दूमा राख्ने उल्लेख छ। सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन्।












