Kathmandu Press

महिलालाई निर्णायक तहमा पुर्‍याउन माग गर्दै देशव्यापी बसयात्रा

आज काँकडभिट्टा र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यबिन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ।
महिलालाई निर्णायक तहमा पुर्‍याउन माग गर्दै देशव्यापी बसयात्रा

झापा, चैत ६ : अन्तरपुस्ता महिला मञ्च (आइजिएफएफ) ले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्‍याउनुपर्ने उद्घोषका साथ आज पूर्वी नाका काँकडभिट्टाबाट ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ।

आज काँकडभिट्टा र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यबिन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ। महिलालाई राज्यको निर्णायक तहमा पुर्‍याउन देशव्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चका केन्द्रीय सञ्चालक समितिकी संयोजक डा सुशान्त रिसालले बताए।

Hardik ivf

उनले परमुखी विकासको कुलो फर्काउनु पर्ने र महिलालाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिँदै त्यसका लागि लैंगिक विभेदका विरुद्ध सबै मोर्चामा संघर्ष गर्नु पर्ने बताए। 

बसयात्रा उद्घाटनका अवसरमा महिला टोलीले नै नौमति बाजा बजाएर नाचगानसहित अभियानका सहभागीलाई स्वागत गरेको थियो। उक्त अवसरमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पितृसत्तात्मक विभेद र थिचोमिचोविरुद्ध महिलाले साझा दृष्टिकोण बनाएर लड्न आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले महिलालाई उपप्रमुख, उपाध्यक्ष, उपसभामुख र उपप्रधानमन्त्री तथा उपराष्ट्रपति जस्ता दोस्रो तहको नेतृत्वमा सीमित गराइएको भन्दै पार्टी र राज्यको पहिलो नेतृत्व तहमै पुग्न सबैले जोडबल गर्नुपर्ने बताए।

बसयात्रा उद्घाटन कार्यक्रमको संयोजन गरिरहेको महिला जनचेतना केन्द्र झापाकी अध्यक्ष सीता गुरुङका अनुसार महिलावादी अभिानकर्मीहरुले बसयात्राका क्रममा मुलुकका विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्नेछन्। अभियानकर्मी चढेको बस झापा, मोरङ, सुनसरी र सप्तरी छिचोलेर आजै साँझ सिराहाको लहान पुगेर बास बस्ने उनले जानकारी दिइन्।

अन्तर–पुस्ता महिलावादी मञ्च महिला आन्दोलनका लागि पाँच वर्षअघि गठन भएको साझा सञ्जाल हो। त्यसमा देशभरका महिला अधिकारकर्मी जोडिएका छन्। यसले महिलावादी एजेन्डा उठाउँदै देशव्यापीरुपमा महिला आन्दोलनलाई समावेशी दृष्टिकोणका साथ एकताबद्ध गरिरहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी सदस्य राधा प्रधानले बताइन्।

आज काँकडभिट्टाबाट सुरु भएको बसयात्रा अभियानअन्तर्गत चैत ७ गते लहान र ८ गते चन्द्रनिगाहपुरमा पुगेर विशेष कार्यक्रमको आयोजना हुने बताइएको छ। पश्चिमको कञ्चनपुरबाट चैत ५ गते सुरु भएको अभियानले आज कैलाली, चैत ७ गते दाङ र ८ गते भैरहवामा अन्तरक्रिया कार्यक्रम गर्ने अभियानका सदस्य चिङलामु शेर्पाले जानकारी दिइन्।

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, चैत ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्