गृहमन्त्री लामिछानेबारे छानबिन गर्न कांग्रेसद्वारा संसदीय समिति गठनकाे माग
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन्।
काठमाडौं, चैत ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमितता प्रकारणामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर सकिएलगत्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन्। ‘एउटा छानबिन समिति गठन गरौँ, दुधको दुध पानीको पानी हुन्छ,’ नेता लेखकले भने। प्रधानमन्त्रीको प्रश्नोत्तरलगतै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस मुख्य सचेतक रमेश लेखकलाई बोल्न समय दिएका थिए।
अनुसन्धानमा रहेका व्यक्ति मन्त्री पदमा बस्न नमिल्ने बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेबारे सदनमा दिएको जवाफप्रति असन्तुष्टि जनाए। ‘प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको छ। उहाँ नै अध्यारोमा हुनुहुन्छ। अब कसरी निष्पक्ष छानबिन होला? उहाँले प्रमाण छैन भन्नुभएको छ सरकारीबाट रवि लामिछानेको नाममा पेस्की फर्छ्याेट भएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।’
उनले प्रधानमन्त्रीले लामिछानेलाई कारबाही गर्न प्रमाण नभएको भने पनि पर्याप्त प्रमाण रहेको दाबी पनि गरे। ‘उहाँले प्रमाण छैन भन्नुभएको छ। म भन्छु कुनै होइन पर्याप्त प्रमाण छ । यसको छिनोफानो कसले गर्छ ? म एउटा आग्रह गर्छु अहिलेसम्म संसदमा अभ्यास भएको पनि संसदीय मान्यतामा स्थापित पनि भएको छ म सरकारलाई चुनौती दिन्छु यदि सदनभित्र छानबिन समिति गठन गरौं, छानबिन गरौं ।’
गृहमन्त्री नियुक्तिलाई लिएर कांग्रेसले राजनीतिकरण गरेको भनी प्रधानमन्त्रीले लगाएको आरोपप्रति प्रमुख सचेतक लेखकले आपत्ति पनि जनाए।
तिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने सहकारी ठगीमा प्रत्यक्ष सङ्लग्न रहेको पर्याप्त प्रमाण रहेको र सहकारी ऐनमा राखिएको गैर सदस्यले कर्जा नपाउने व्यवस्थाको उल्लघन भएर गैरकानूनी रुपमा कर्जा प्रवाह भएको दाबी गरे।
विगतमा मन्त्रीहरुमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिएका उदाहरण सुनाउँदै लेखकले गृहमन्त्री लामिछानेले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र अनुसन्धानमा सघाउनुपर्ने बताए।












