काठमाडौं तेस्रो प्रदूषित सहरमा सूचीकृत
वायु प्रदूषणसम्वन्धी अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहानको लाइभ अपडेटले काठमाडौंमा अत्याधिक प्रदूषित सहरमा सूचीकृत गरेको हो।
काठमाडौं, चैत ६ : विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो नम्बरमा सूचीकृत भएको छ।
वायु प्रदूषणसम्वन्धी अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहानको लाइभ अपडेटले काठमाडौंमा अत्याधिक प्रदूषित सहरमा सूचीकृत गरेको हो।
आईक्यू एयरको तथ्यांकअनुसार सबैभन्दा प्रदूषित शहर थाइल्याण्डको च्याङ माइ सहर रहेको छ । च्याङ माइ सहरको प्रदूषणको मात्रा १९८ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ। दोस्रो प्रदूषित शहरमा पाकिस्तानको लाहोर रहेको छ । लाहोरमा प्रदूषणको मात्रा १७५ यूएस एक्यूआई पुगेको छ । तेस्रो प्रदूषित सहर काठमाडौंमा प्रदूषणको मात्रा १७० यूएस एक्युआई पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ५० यूएस एक्यूआईभन्दा माथिको वायुलाई अस्वस्थकर मानिन्छ । अन्य सहरहरूमा बंगलादेशको ढाका, भारतको दिल्ली, मुम्बइलगायत सहरमा सूचीकृत भएका छन्।
एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।












