रुसी सेनामा भर्ना भएका नेपालीको करार रद्द गर्न सहमति दिइएको छ : परराष्ट्रमन्त्री श्रेष्ठ
मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति तथा विमाको रकम उपलब्ध गराउने काम रुसी सरकारबाट प्रारम्भ भइसकेको समेत जानकारी पनि मन्त्री श्रेष्ठले दिए।
काठमाडौं, चैत ५ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसले आफ्नो सेनामा भर्ना भएका नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको जानकारी संसदलाई दिएका छन्।
सोमबार संसदलाई जानकारी दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने विषयमा सैद्धान्तिक सहमति रहेको जानकारी गराएको तर त्यसको मोडालिटी तय हुन बाँकी रहेको बताए। ‘यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको छ,’ श्रेष्ठले भने।
मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति तथा विमाको रकम उपलब्ध गराउने काम रुसी सरकारबाट प्रारम्भ भइसकेको समेत जानकारी पनि मन्त्री श्रेष्ठले दिए। ‘उपयुक्त बैंकिङ माध्यम निर्धारण गर्न, क्षतिपूर्तिसहित विमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत पीडितलाई उपलब्ध हुनेछ’, उनले भने।
रुसी सेनामा भर्ना भएर युक्रेनमा बन्दी भएकालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकता दिइरहेको भनाई श्रेष्ठको थियो। श्रेष्ठले आफूले रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेर रुसका तर्फबाट नेपालका लागि राजदूतलाई नेपाली नागरिकलाई भर्ना नलिन, सम्झौता खारेज गर्न, शव नेपाल पठाउनलगायत विषयमा अनुरोध गर्ने काम गरेको जानकारी समेत गराएका छन्।












