Kathmandu Press

सहकारी र मिटरब्याजपीडितलाई न्याय दिन सांसदको आग्रह    

उनीहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।
सहकारी र मिटरब्याजपीडितलाई न्याय दिन सांसदको आग्रह    


काठमाडौं, चैत ५ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलियाको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको ध्यानाकर्षण गराए। कांग्रेसका सांसद दिक्पालकुमार शाहीले सहकारी पीडितको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले सुन तस्करीको विषयमा प्रधानमन्त्रीको जवाफसमेत माग गरे। 

एमालेका सांसद ठाकुरप्रसाद गैरेले जलवायु परिवर्तनका कारण देश प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले मुलुकमा आगलागीका घटना बढेकोप्रति चिन्ता प्रकट गरे। 'नेपालका सम्पूर्ण वन आगजनीको अत्यन्त खतरामा छन्। सिङ्गो सरकार देशका सम्पूर्ण जनप्रतिनिधिमूलक संस्था र नागरिक समाजलगायत सुरक्षाकर्मी सबैले वन तथा गाउँघरमा लाग्ने आगलागी नियन्त्रणका लागि लाग्नुपर्दछ,' उनले भने।

Hardik ivf

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले ललितपुरको सातदोबाटो–धापाखेल पाँच किलोमिटर सडक विस्तारको काम यथाशीघ्र सम्पन्न गर्न माग गरे। एमालेका सांसद दामोदर पौडेल बैरागीले पोखरालाई पर्यटक राजधानीको रुपमा घोषणासँगै पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। उनले पोखरा परिसरका प्राकृतिक एवं ऐतिहासिक महत्वका स्थानलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गरे। 

कांग्रेसका सांसद दीपक खड्काले सङ्खुवासभालगायत जिल्लामा बाढीबाट विस्थापितप्रति सरकारको ध्यान पुग्न नसकेको बताए। सङ्खुवासभाको किमाङथाङ नाकामा जाने बाटो तत्काल खुलाउन उनले माग गरे। कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्धारीका किसान ३९ दिनदेखि आन्दोलनरत रहेका भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न माग गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्न माग गरे।

एमालेका सांसद दिपा शर्माले हुलाकी राजमार्गअन्तर्गत बाँके जिल्लामा पर्ने सडकखण्डको खुल्न बाँकी ट्र्याकका लागि बजेटको व्यवस्थापन गर्न माग गरिन्। उनले भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालमा प्रयाप्त जनशक्ति व्यवस्थापनको माग गरिन्।

माओवादी केन्द्रका सांसद दुर्गा राईले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता प्रकट गर्दै सडकको स्तरोन्नति, सवारी साधनको सिटभार निक्र्यौल र निगरानी गर्न माग गरिन्। कांग्रेसका सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकामा राष्ट्रिय प्राणी उद्यानको निर्माण गर्ने योजनालाई प्राथमिकताका साथ राष्ट्रिय गौरवको योजनाामा समावेश गर्न माग गरे।  
 
कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले किसानको दूधको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरे। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बागलुङको सडक निर्माणप्रति सरकारको ध्यानार्कषण गराए। उनले पालिका जोड्ने सडकखण्ड अलपत्र परेको भन्दै चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी कामलाई तीव्रता दिन माग गरे।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पश्चिम नवलपरासी जिल्लामा थारू संस्कृति विकास तथा प्रशिक्षण केन्द्र स्थापनाका लागि बजेट उपलब्ध गराउन माग गरे। उनले रामग्राम नगरपालिकामा कुस्ती कबड्डी खेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग अनुरोध गरे।

कांग्रेसका सांसद नागिना यादवले रुग्न अवस्थामा रहेका नौ उद्योग पुनः सञ्चालन अघि लागत प्रतिफल अनुमान गर्नुपर्ने बताइन्। एमालेका सांसद नारायणप्रसाद आचार्यले सदनमा उठेका विषयमा सम्बोधन नभएको भन्दै रुलिङका लागि सभामुख समक्ष माग गरे। उनले देशभरका विभिन्न राजमार्गको मर्मत गर्नुपर्ने मागसमेत गरे। 

माओवादी केन्द्रका सांसद नारायणी शर्माले भारतसँग सिमा जोडिएको दाङ्को गडुवा गाँउपालिका–८ को नाकास्थित ४८ नम्बरको सीमा स्तम्भ खोलाले बगाएको भन्दै उक्त स्थानमा पुनः सिमास्तम्भ निर्माण गर्न माग गरे।  

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्