‘सहकारी ठगी आरोपमा मुछिएका गृहमन्त्रीबाटै निष्पक्ष छानबिन कसरी हुन्छ?’
सांसद थापाले सुन काण्डमा सरकारले गरेको कामको प्रशंसा गर्दै यसैगरी सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे।
काठमाडौं, चैत ५ : सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैं कसरी निष्पक्ष छानविन गर्न सक्छन् भन्दै कांग्रेसले प्रश्न गरेको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले भने,‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैं मुछिनुभएको छ। यसको अनुसन्धान कसरी हुन्छरु यसको विश्वास हामीले कसरी गर्ने हो?’
उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने डर आफूलाई भएको बताए। ‘कुनै एउटा प्रमाण नाश नहोस्। अहिले प्रहरीसँगै प्रमाणहरू छन्। पीडितहरूले जम्मा गरेर प्रमाण दिएका छन्’, उनले भने।
सांसद थापाले सुन काण्डमा सरकारले गरेको कामको प्रशंसा गर्दै यसैगरी सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे।
‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा ९एमाले० ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन,’ उनले भने, ‘शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो,’ थापाले भने।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ परेकोमा उनले सरकारलाई धन्यवाद दिए।
‘आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ,’ उनले भने, ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ।’












