कल सेन्टरमा फोन : 'रुघा लागेको छ, कोरोना लागेको त होइन?'
काठमाडौं, चैत ७ : कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन सरकारले कल सेन्टर सञ्चालनमा ल्याएको छ। कल सेन्टरमा दैनिक एक हजार भन्दा बढीकाे फोन आउने ग....

काठमाडौं, चैत ७ : कोरोना भाइरसको संक्रमणबारे जानकारी दिन सरकारले कल सेन्टर सञ्चालनमा ल्याएको छ। कल सेन्टरमा दैनिक एक हजार भन्दा बढीकाे फोन आउने गरेकाे छ। फोन गर्नेहरूले प्रायः एउटै खाले प्रश्न गर्छन, ‘मलाई रुघा लागेको छ, कोरोना लागेको त होइन?’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले परामर्शको लागि चैत १ गतेदेखि कल सेन्टर सुरू गरेको हाे। महाशाखाको १११५ नम्बरमा फोन गर्न सकिन्छ। फोन गर्दा पैसा लाग्दैन।
यो अवधिमा १३ हजार जनाले टोल फ्रि नम्बरमा फोन गरेका छन्। दैनिक एक हजारभन्दा बढीले फोन गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले बताए।
प्रायः सबैले कोरोना भाइरस के हो भन्ने गरेका छन्। ‘सबैभन्दा धेरै प्रश्न कोरोना भाइरस के हो? कसरी लाग्छ? के के लक्षण छन्? कसरी थाहा पाउने? रोग लागेमा कसरी बाच्ने? नेपालमा कोरोनाको कति जना विरामी आए?,’ निर्देशक पाण्डेले भने, ‘रुघा लागेको छ, कोरोना लागेको त होइन? भन्ने खालको प्रश्न बढि आउने गरेको छ।’
कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएर राखिएको छ। चार वटा फोन जडान गरिएको छ। कल सेन्टर २४सै घन्टा खुल्ला रहने छ। पालो मिलाएर कर्मचारी बस्ने गरेको महाशाखाले जनाएको छ।
सेवाग्राहीले सोध्नेको प्रश्नअनुसार जवाफ दिने गरिएको छ। कसैको कोरोना भाइरससम्बन्धी लक्षण मिलेमा स्वास्थ्य परीक्षणको लागि नजिकको स्वास्थ्य चौकी तथा टेकु आउने परामर्श दिने गरिएको निर्देशक पाण्डेले बताए।
कल सेन्टरमा तालिम प्राप्त व्यक्ति मात्रै भएकाले विस्तृत जानकारीका लागि स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरिएको छ।
चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण संसारका एक सय ८० देशमा पुगेको छ। नेपालमा पनि संक्रमण फैलिनसक्ने भएकाले सतर्कता अपनाउन थालिएको छ। त्यहीअनुरुप, सर्वसाधारणलाई कल सेन्टरबाट जानकारी दिने गरिएको उनले बताए।












-(86)-1764936079.jpg)