प्रकाशशरण महत भन्छन्- दक्षिण एसियाको भाइचाराका लागि सांस्कृतिक आदानप्रदान
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले जनस्तरमा सम्बन्ध सुदृढीकरणका लागि साँस्कृतिक आदानप्रदान महत्वपूर्ण रहेको बताए।
काठमाडौं, चैत ४ : दक्षिण एसियाली मुलुकहरुको सांस्कृतिक सम्बन्ध विस्तारका लागि गठित साउथ एसियन फेटरनिटीले आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले जनस्तरमा सम्बन्ध सुदृढीकरणका लागि साँस्कृतिक आदानप्रदान महत्वपूर्ण रहेको बताए।
उनले सत्य पालद्वारा स्थापना गरिएको संस्थाले दक्षिण एसियाली मुलुकमा साँस्कृतिक आदानप्रदानका गतिविधिलाई टेवा लिएको उल्लेख गरे। उनले भने ‘यो संस्था सत्य पालले स्थापना गर्नु भएको हो। अटल विहारी बाजपेयी पनि यसमा संस्थापक सदस्य हुनुहुन्छ। पाल भर्खरै दिवंगत हुनुभयो। उहाँले मलाई काठमाडौंमा कार्यक्रममा राखौं भन्नुभएको थियो।’
दक्षिण एसियाली सहयोग संगठन सार्कको स्थापनाको उद्देश्य दक्षिण एसियाली मुलुकबीच सहकार्य बढाउने भन्ने छ। भारत–पाकिस्तानबीचको सम्बन्धमा आएको तिक्तताका कारण सार्क निष्प्रभावी भइरहेका बेला फेटरनिटीले भने विभिन्न मुलुकमा साँस्कृतिक आदानप्रदानका कार्यक्रम गरिरहेको छ।
कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पूर्वअर्थमन्त्री महतले भने ‘यो साँस्कृतिक आदानप्रदानको कार्यक्रमले एकआपसमा एकता र सहकार्य बढाउन, एकअर्कालाई बुझ्न मद्दत गर्छ। मित्रता बढाउन मद्दत गर्छ। हामी आपसका मिल्दाजुल्दा कुरा के के छन् बुझौं। सहकार्य गरौं।’
उनले थपे, ‘सत्य पाल भर्खरै बिते। उनले मलाई काठमाडौंमा हुने कार्यक्रमको सहजीकरणका लागि आग्रह गरेका थिए। यो सांस्कृतिक आदानप्रदानले एकअर्कालाई बुझ्न, सम्बन्ध विस्तारमा सघाउँछ।’












