Kathmandu Press

कोरोनाबारे देशवासीलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

आज दिउसो प्रधानमन्त्री ओलील....

कोरोनाबारे देशवासीलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
फाइल फाेटाे

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

आज दिउसो प्रधानमन्त्री ओलीलाई कोरोना भाइरसको संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले भेटेका थिए। पोखरेलले अहिलेको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीसँगको भेटपछि रक्षामन्त्री पोखरेलले उच्चस्तरीय समन्वय समितिको बैठक बोलाएका छन्। आज साँझ बस्ने बैठकले थप निर्णय गर्ने जनाएको छ। काठमाडौं उपत्यका ‘लक डाउन’ गर्नेसम्मको निर्णय हुनसक्ने जनाएको छ।

समन्वय समितिको निर्णयका आधारमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेको जनाएको छ। आज साँझ या भोलि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने बालुवाटार स्रोतले जनाएको छ। त्यसको तयारी भइरहेको छ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न अघि देशवासीका नाममा सम्बोधन गरेका थिए। उनले भिडियो सन्देश दिँदै आफू छिटै काममा फर्किने बताएका थिए।

मिर्गौला प्रत्यरोपणपछि प्रधानमन्त्री ओली आराम गरिरहेका छन्। उनलाई संक्रमण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाइएको छ।

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन, शैक्षिक संस्था बन्द गर्न, भेला, सभा, सम्मेलन नगर्न निर्देशन दिइसकेको छ।

अब थप कदम चालिने जनाएको छ। त्यसका लागि आज साँझ उच्चस्तरीय समन्वय समितिको बैठक बस्न लागेको हो।

 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, चैत ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्